
नेपालगञ्ज – सेती अस्पतालले कोरोना भाइरसको संक्रमण नभएको अर्थात नेगेटिभ रिपोर्ट दिएका व्यक्तिको भेरी अस्पताल, नेपालगञ्जमा पोजिटिभ रिपोर्ट आएको छ । पोजिटिभ रिपोर्ट आएका ती संक्रमितको आइतबार राति मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १५ निवासी ५४ वर्षीय पुरुषको राति साढे १२ बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई सेती अस्पताल लगिएको थियो । त्यही जाँच गर्दा उनको रिपोर्ट नेगेटिभ आयो । तर, स्वास्थ्यमा समस्या भइरह्यो । त्यसपछि उनलाई भेरीमा ल्याइयो । मंसिर २२ गते भेरीमा कोरोना पोजिटिभ रिपोर्ट आयो । उपचारमा रहेका उनको आइतबार राति निधन भयो ।
बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा ६९ जनाको मृत्यु भइसकेको छ ।
यसैबिच, बाँकेमा सोमबार २० जनाले कोरोनालाई जितेका छन् । कोरोना पुष्टि भएपछि विभिन्न ठाउँमा आइसोलेशनमा बसेका उनीहरु डिस्चार्ज भएका हुन् ।