
सुनसरी – सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट सोमबार बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको जनाइएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट यादवको मृत्यु भएको हो ।
आइतबार राति आरक्षबाट आएको हात्तीले सोमबार बिहान फर्किने क्रममा खेतमा काम गरिरहेका यादवलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट यादवको घटनास्थलमै मृत्यु भएको स्थानीयबासिन्दा धर्मेन्द्र मेहताले बताए ।
घटनापछि आरक्ष कार्यालयका कर्मचारी, नेपाली सेना र नेपाल प्रहरीको टोलीले घटनास्थलमा गई अनुसन्धान सुरु गरेको छ ।
स्थानीय बासिन्दाले पटकपटक आरक्षबाट आउने जङ्गली जनावरको आतङ्कबाट आफूहरु प्रताडित भएको भन्दै नियन्त्रणका लागि माग गरेका छन् ।
दैनिक रुपमा आरक्षबाट आउने हात्ती, अर्ना, बँदेललगायत जनावरले बालीनाली नष्ट गर्नाका साथै स्थानीय समुदायको घरसमेत तोडफोड गर्ने गरेको र मानवीय क्षतिसमेत गर्दै आएको बताइएको छ ।