
मोरङ-नेकपा सरकारको काम कार्वाहीविरुद्ध नेपाली कांग्रेसले विराटनगरमा विरोध र्यालीको प्रदर्शन गरेको छ।
नेपाली कांग्रेस मोरङ जिल्लाद्धारा सोमबार विराटनगरमा आयोजित विरोध कार्यक्रममा मोरङका विभिन्न स्थानबाट नेता कार्यकर्ताको उपस्थिती रहेको थियो। कार्यक्रममा कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताएका थिए।
करिब ३ वर्षको समय सकिन लाग्दा समेत वर्तमान सरकारले मुलुक हाक्ने स्पस्ट दृष्टिकोण बनाउन नसकेको आरोप महामन्त्री कोइरालाले लगाएका थिए। भ्रष्ट्राचारमा लिप्त नेकपा सरकार जनताप्रति उत्तरदायि बन्न नसकेको आरोप लगाउदै कोइरालाले वर्तमान अवस्थामा सरकारलाई ‘निकम्मा’को संज्ञा दिएका थिए।
अहिलेको कोभिड १९ को विषम परिस्थितीमा समेत सरकारको उपस्थिति नभएको बताएका उनले सरकार जनतामाथि दमन गर्नका लागि मात्र देखिने गरेको आरोप लगाए। सरकारको भूमिका लाचार हुन थालेपछि प्रतिपक्षी दल कांग्रेस सडकमा उत्रनुपरेको कोइरालाको भनाइ थियो।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य एवं केन्द्रिय सदस्य रमेशजङ रायमाझीले सत्तारुढ दल नेकपाको सरकारमा बसिरहने समय अन्तिम भएको बताएका थिए। जनता भोकभोकै भएको अवस्थामा समेत सरकार भ्रष्ट्राचारमा रमाएको बताउँदै उनले आन्तरिक विवादमा रुमलिएको नेकपाको सरकार धरर्मराएको उल्लेख गरे।
त्यसैगरि, मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले जनता सरकारको कामकार्वाहीबाट निराश भएको बताएका थिए। विरोध सभाको पूर्व नेपाल तरुण दल महानगर कार्य समिति मोरङले मोटरसाईकल र्यालीको आयोजना गरेको थियो।