
मोरङ – विराटनगरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक युवा र एक बृद्धाको मंगलबार राति मृत्यु भएको हो।
उपचार केन्द्रका प्रमुख एवम् वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलका अनुसार मोरङको सुन्दरहरैंचा नगरपालिकाका २२ वर्षीय युवक र पथरीशनिश्चरे नगरपालिकाकी ७३ वर्षीया बृद्धाको मृत्यु भएको हो।
डा. सिग्देलका अनुसार पथरीशनिश्चरे नगरपालिका–१ की ७३ वर्षीया बृद्धाको राति करिब ९ बजेतिर मृत्यु भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि उनलाई मंसिर २७ गते भर्ना गरिएको थियो ।
त्यसैगरि, मोरङको सुन्दरहरैचा नगरपालिका–३ का २२ वर्षीय युवकको राति करिब ९ बजेर ५० मिनेटमा मृत्यु भएको हो । युवकमा मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
यससँगै केन्द्रमा हालसम्म ५४ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयल प्रदेश १ ले जनाएको छ। जसमा १९ महिला र ३५ पुरुष छन्।
प्रदेशमा भने हालसम्म १ सय ३५ महिला र ३ सय ९ पुरुष गरी कुल ४ सय ४४ जया संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।