
काठमाडौँ- भक्तपुरको चागुनारायण नगरपालिका-९ हेल्मेट डाडाँस्थित एक रिसोर्टमा काम गर्ने बालिकाहरुलाई यौन धन्धामा लगाउने गरिएको प्रहरीले दावी गरेको छ।
त्यहाँ काम गर्ने बालिकालाई यौन धन्धामा लगाइरहेको पाइएपछि भक्तपुर प्रहरीले संलग्न ग्राहक र वेटरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ग्राहक २६ वर्षीय निश्चल उपाध्याय र त्यहाँ काम गर्ने वेटर २० वर्षीय प्रदिप कुँवर रहेका छन्।
रिसोर्टका मालिक भने फरार रहेको प्रहरीले जनाएको छ। रिसोर्टमा काम गर्ने एक १७ वर्षीया बालिकासँग यौन सम्पर्क गरिरहेको अवस्थामा उपाध्याय पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीले जबर्जस्ती करणी कसुर मुद्धामा उपाध्याय र कुँवरविरुद्ध अनुसन्धान अगाडि बढाइएको जनाएको छ। वेटर काम गर्ने कुँवर बालिकालाई ग्राहकसम्म पुर्याउने काममा संलग्न रहेको प्रहरीको दावी छ।