
भारतका दुई युवकलाई मोरङ प्रहरीले लागुपदार्थ खैरो हिरोईनसहित पक्राउ गरेको छ।
विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार विराटनगर महानगरपालिका १६ दरैयाबस्तीबाट भारतको विहार अररिया जोगबनीका युवक पक्राउ गरेको हो।
बुधबार बेलुका करिब सवा ५ बजे जोगबनीका ३२ वर्षीय सुरजेश कुमार राय र १३ वर्षीय एक बालक रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरुको साथबाट ५ ग्राम खैरो हिरोईन बरामद भएको लागु औषध नियन्त्रण ब्यूरो विराटनगरले जनाएको छ। त्यसैगरि, बुधबार बेलुकानै विराटनगर महानगरपालिका १७ का २७ वर्षीय लद्धीफुल मियाँ १३ ग्राम हिरोईनसहित पक्राउ परेका छन्।
उनलाई बजारक्षेत्र शनि मन्दिर आसपासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका ३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान तथा कानूनी कार्वाहीका लागि अघि बढाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कविन्द्र कार्कीले जानकारी दिए।