
काठमाडौँ-कमसल धितो राखेर ऋण प्रवाह गरेको आरोपमा महालक्ष्मी विकाश बैंकका तीन जना शाखा प्रबन्धक पक्राउ परेका छन्।
बैंकका कुमारीपाटी शाखा प्रबन्धक स्मृती राना, पिंकु पालिखे र अनिस सिंह सिजापती पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले उनिहरुलाई आइतबार विभिन्न स्थानबाट पक्राउ गरेको हो। तीनै जनाले विभिन्न समयमा कुमारीपाटीको शाखाको नेतृत्व गरेका थिए। बैंकले धितोका रुपमा राखेको सुन कमसल भएको पाएपछि सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो।
सीआईबी स्रोतका अनुसार २०७४ सालयता उक्त बैंकमा ११ जना ऋणीले धितोका रुपमा राखेको सुन कमसल भएको पाइएको छ। ‘ सुनको परिमाणको मूल्यभन्दा निकै बढीऋण प्रवाह भएको पाइएको छ।’, सीआईबी स्रोतले भन्यो।
राष्ट्र बैंकले गरेको छानबिनमा कमसल धितोमाऋण प्रवाह गरेको पाइएपछि उसले सीआईबीलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो।
धितो राखिएको सुनबापत ७ करोड ४२ लाख रुपैयाँ ऋण प्रवाह भएको थियो। सामान्यतया बैंकले सुनको परिक्षण गरी तत्कालको बजार मुल्यका आधारमा ऋण दिने गर्छन्। ‘सुनको जाँच र परिमाणको मुल्य निर्धारण गर्नेक्रममै मिलेमतो भएको देखिएको छ’, अनुसन्धानरत सीआईबीका एक अधिकारीले भने।