
काठमाडौँ– कोरोना भाइरस हामारीको कारण फागुनमा हुने भनिएको नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ)को चौथोँ संस्करण तत्कालका लागि स्थगित गरिएको छ।
फागुन महिनाको १२ देखि १६ (फेब्रुअरी २४ देखि २८,२०२१) सम्म काठमाडौँमा गर्ने भनी घोषणा गरिएको फेस्टिभल निर्धारित मितिमा हुन नसक्ने आयोजकले जनाएको हो। आयोजक नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले फेस्टिभल २०७८ वैशाखको २३ देखि २७ सम्म काठमाडौँमा हुने जानकारी गराएको छ।
आयोजकले पूर्व निर्धारित मितिमा फेस्टिभल गर्ने गरी विश्वभरका चलचित्र निर्माताबाट फेस्टिभलमा सहभागिताका लागि आवेदन पनि खुल्ला गरेको थियो। २०२० को जुलाई १ देखि नोभेम्बर ३० सम्म तोकिएको समयावधिमा ५२ देशका ४ सय बढी चलचित्रले सहभागिताको लागि आवेदन दिएको आयोजकका संस्थाका अध्यक्ष केपी पाठकले विज्ञप्तिमा उल्लेख गरेका छन्।
यसरी प्राप्त चलचित्र मध्येबाट छानिएका चलचित्रको सूची फागुन ८ (फ्रेब्रुअरी २०,२०२१) मा सार्वजनिक गरिने संस्थाका अध्यक्ष केपी पाठकले उल्लेख गरेका छन्।
‘महामारीका कारण फिल्ममेकर चाहेर पनि फेस्टिभलमा सहभागी हुनसक्ने अवस्था छैन। भर्चुअल रुपमा गर्ने विकल्प हामीलाई खास प्रभावकारी लागेको छैन’, पाठकले भनेका छन्, ‘केही समय कुर्दा पुरानै स्वरुपमा फेस्टिभल गर्न सकिन्छ भन्ने अपेक्षासहित केही महिना सारेर फेस्टिभल गर्न लागेका हौँ।’
‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका चलचित्रको विधा थप गरिएको थियो।
‘बेस्ट पान्डेमिक फिल्म’ नाम दिइएको यो विधामा विजेता चलचित्रले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने अध्यक्ष पाठकले जानकारी गराए।
राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा बाँडेर प्रदान गरिने अवार्डमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमवुद्ध अवार्ड प्रदान गरिनेछ भने यो चलचित्रले ‘इन्टरनेसनल फेडरेशन अफ फिल्म सोसाइटिज’को जुरीको तर्फबाट ‘आईएफएफएस डन क्विजोट अवार्ड’ प्राप्त गर्नेछ।
यसैगरी अन्तर्राष्ट्रिय विधातर्फकै सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७ सय ५० डलर राशिको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको वाग्मती अर्वाड प्रदान गरिनेछ।
साथै, नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख रुपैयाँ, उत्कृष्ट छोटा चलचित्रलाई ५० हजार रुपैयाँ नगद र छोटा चलचित्रमध्येबाट उत्कृष्ट चलचित्र निर्देशकलाई ट्रफि प्रदान गरिनेछ। यो बाहेक ‘फिचर फिल्म’ विधातर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ।