
पर्सा-शितलहर तथा चिसोजन्य विपद्बाट प्रभावितहरुलाई बचाउनको लागि पर्सामा ४४ लाख रकम खर्च गरिने भएको छ।
चालु अर्थिक बर्षमा जिल्लामा शितलहर तथा चिसोजन्य विपद्बाट प्रभावित हुन सक्ने संकटापन्न व्यक्तिहरु तथा परिवारका लागि संघीय सरकार प्रदेश २ सरकार तथा स्थानीय तहबाट गरि रु ४४ लाख रकम खर्च गरिने भएको हो।
यसवर्ष चिसोबाट बच्न संघीय सरकारबाट १५ लाख, प्रदेश २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट १० लाख र स्थानीय तहहरुबाट रु १९ लाख रकम प्राप्त भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। उक्त रकम बाट जिल्लाका ७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकहरुलाई एक-एक थान टोपी, वडी वार्मर र कम्बल उपलब्ध गराइने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए।
चिसोबाट बच्नको लागि चाहिने यी सामानहरुको खरिद प्रक्रियासमेत शुरु भईसकेको पौडेलले बताए। साथै यस वर्ष जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने पनि निर्णय जिल्ला बिपत ब्यावस्थापन समितिले गरेको छ। न्यानो कपडाको नमूना छनौटको लागि सहायक प्रजिअ भिमकानत पौडेलको सँयोजकत्वमा ६ सदस्यीय छनौट समिति पनि गठन गरिएको छ।
शितलहरबाट बच्नको लागि स्थानीय तह, सुरक्षा निकाय, डिभिजन सडक कार्यालय, ट्राफिक प्रहरी कार्यालय लगायतको समन्वयमा कुहिरो तथा हुस्सु लागेको समयमा सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने एवं सर्भे समूह गठन गरी यस्तो स्थानको म्यापिङ गर्ने, दुर्घटना स्थानको पहिचान गर्ने, सांकेतिक चिन्ह राख्ने, सूचनामूलक सन्देश राख्ने कार्य पनि गरिने जिल्ला प्रशासनले जनाएको छ। शीत लहर तथा चिसोबाट वच्न विद्यार्थीहरुलाई चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि जिल्ला बिपत ब्यावस्थापन समितिले निर्णय गरेको छ।
शितलहरबाट बच्नको लागि डिभिजन बन कार्यालयले आवश्यक दाउराको व्यवस्था पनि गर्ने भएको छ। न्यानो रहनको लागि आगोको प्रयोग गर्दा आगोलागी तथा निसासिने समस्यबाट बच्न चेतनामूलक तथा सन्देशमूलक सूचना प्रकाशित गर्ने निर्णय पनि बिपत ब्यावस्थापन समितिले गरेको छ।