
काठमाडौँ-पछिल्लो समय कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या घट्दै गएको छ। जाडोयाममा संक्रमितको संख्या बढ्ने र सचेतना अपनाउन विज्ञहरुले सचेत गराउदै गर्दा गएको एकसातामा प्रदेश १ मा संक्रमितको संख्या र मृत्युदर कम रहेको सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जनाएको छ।
सामाजिक विकास मन्त्रालयको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा. रविन्द्र निरौलाका अनुसार पछिल्लोसमय संख्यात्मक रुपमा संक्रमितको दर घट्दो रहेको छ। दशैअघिसम्म दैनिक कुल परिक्षणको ३० प्रतिशतसम्म संक्रमित देखिने गरेकोमा हाल आएर सो अनुपात १० देखि १२ प्रतिशतसम्म घटेको उनको भनाइ छ।
भाइरसका सन्दर्भमा सुरुमा जति त्रास डर रहेको भए पनि पछिल्लोसमय सर्वसाधारणमा भाइरसलाई लिएर डर कम भएको मन्त्रालयको बुझाई छ। त्यससंगै सरकारले निः शुल्क परिक्षणबाट शःशुल्क रकमसहित परिक्षण गर्ने अवधारणा गर्न थालेपछि दैनिक परिक्षणको मात्रा समेत कम हुदै गएको देखिन्छ।
अर्कोतर्फ, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलका अनुसार अहिलेको अवस्थामा परिक्षणको दायरा कम भएको र सोही अनुरुप नतिजापनि कम आएको हो। अहिलेको स्थिती भाइरसको पहिलो लहरको अन्त्य नजिक रहेको बताएका डा.सिग्देलले अहिले विरामीको संख्या पनि घट्दो रहेको बताँउछन्। हाल जाँच परिक्षण कम, पहिचान कम भएको हुदाँ मृत्युदर समेत घट्दै गएको उनको भनाइ छ।
अन्तर्राष्ट्रियस्तरबाट हेर्दा जाडोयाम यसको प्रभाव बढ्दै गएको र त्यसतर्फ सचेत रहन आग्रह गरेका डा. सिग्देल सर्वसाधारणको बढ्दो लापार्वाहीका कारण नै दोस्रो लहर थप भयावह हुनसक्ने बताँउछन्। गएको दुइसाताबाट संक्रमितको संख्या घट्दो अवस्थामा रहेको बताएका उनले हाल कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको आइसोलेसनमा समेत १० जना विरामी उपचाररत रहेको जानकारी दिए।
प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले एकपक्षलाई मास्क अनिवार्य लगाउनुपर्छ भन्ने हेक्का भएसंगै अर्कोपक्षमा यस भाइरसले खासै केही असर नगर्ने भन्ने बुझाईमा रहेको बताउँछन्। मास्क लगाउदाँपनि भाइरस संक्रमण देखिएकै छ भन्ने कुराले काम गर्दा मानिसमा त्रास नदेखिएको उनको भनाई छ। यद्धपी, अझैपनि हामी खतरामुक्त नभएको र सचेतना, सुरक्षा मापदण्ड अत्यन्त आवश्यक रहेको उनले बताए।
पौष १ गतेदेखि हालसम्म ४ हजार ८८ जनाको पीसीआर परिक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। जसमा ४ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ। यसक्रममा संक्रमित विरामी १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
अर्कोतर्फ प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ४ सय ५७ जनाको मृत्यु भइसकेको छ। कोरोनाबाट सर्वाधिक संख्यामा सुनसरीमा १ सय ४४, मोरङमा १ सय २८, झापामा १ सय २३ जनाको मृत्यु भएको छ।
यसबीच हालसम्म प्रदेशमा २ लाख बढिको पिसिआर नमूना परिक्षण भइसकेको छ । जसमा २९ हजार बढिमा संक्रमित र २५ हजार ७ सय ८१ जना निको भएर डिस्चार्ज भइसकेका छन्।