
खगेन्द्र लामिछाने नेपाली चलचित्र क्षेत्रको परिचित नाम हो। आफ्नो अभिनयले दर्शकको मनमा अमिट छाप छोडेका लामिछाने अभिनय बाहेक लेखन, निर्देशन, निर्माण लगायत सिनेमा क्षेत्रका अन्य कामहरुसँग पनि सम्बन्धित छन्। झण्डै २१ वर्षको रंगमञ्च अनुभव र ९ वर्षको चलचित्र अनुभव समेटेका लामिछानेले निर्देशनमा डेब्यू गर्न लागेको चलचित्र ‘पानी फोटो’ प्रदर्शन हुन बाँकी छ।
पछिल्लो समय नेपाली चलचित्रलाई ‘ओटिटी प्लेटफर्म’ मा लैजाने काममा जोडिएका लामिछानेसँग हामीले कुराकानी गरेका छौँ।
१. कोरोना महामारीको समय कसरी बितिरहेको छ?
चैतमा लकडाउन सुरु हुँदा घरमा नै बसियो। त्यतिबेला मेरो लेखनको केही कामहरु बाँकी थियो। त्यसैले लकडाउनको समय के गरेर बिताउने भन्नेबारे त्यति ठूलो चिन्ताको विषय भने भएन।
तर जब लकडाउन खुकुलो हुन थाल्यो तब कार्यालयमा आएर, कार्यालयका साथीहरुसँग दूरी कायम गरेर बिस्तारै–बिस्तारै कामहरु गर्न थालियो।
२. तपाईंको डेब्यू निर्देशन रहेको चलचित्र ‘पानी फोटो’ को काम कहाँ पुग्यो त?
‘पानी फोटो’को काम अहिले मिक्सिङ मात्र बाँकी छ। एक हिसाबले आफूलाई भाग्यमानी सम्झन्छु। किनकी लकडाउन अगाडि नै चलचित्र छायांकनको सबै काम सक्किसकेको थियो। लकडाउनको अगाडि सम्पादन सक्किसकेको थियो। लकडाउनमा साउण्डको काम भयो।
कोरोनाको भ्याक्सिनहरु पनि आइरहेको कुरा छ, अवस्था सामान्य हुँदैछ, हलहरु पनि अब चाँडै खुल्लान्। अनि प्रदर्शन गर्छौँ।
३. पहिला–पहिला चलचित्र बन्ने घोषणा गरेर, छायांकन गरेर, मिल्ने मिति खोजेर प्रदर्शन गर्ने चलन थियो। तपाईंको डेब्यू निर्देशनमा चाहीँ छायांकनपछि प्रदर्शनको बीच धेरै लामो समय रह्यो है। डेब्यूमा समस्या पर्ला?
छैन, म कहिले पनि हतार गरेर काम गर्न रुचाउँदिन। पोस्ट प्रोडक्सनको लागि मैले महामारी नभएको भएपनि धेरै समय राखेको थिएँ। सही समयमा सक्केर प्रदर्शन भइसक्थ्यो।
कोरोना महामारी भएपछि झन् मैले चलचित्रलाई बारम्बार हेरेर अझ के राम्रो गर्न सकिन्छ भनेर काम गर्ने मौका पाएको छु। कोभिडले संसारलाई दुःख दियो। तर मैले भने नकारात्मक रुपमा यसलाई लिएको छैन।
४. अहिले हामी निर्देशक खगेन्द्रसँग कुरा गर्यौँ, अभिनय गर्ने खगेन्द्रको नेपाली चलचित्र क्षेत्रमा कस्तो अनुभव छ?
एउटा कलाकारको हिसाबले हरेक चलचित्रमा काम गर्दा नयाँ–नयाँ अनुभवहरु हुन्छन्। हरेक पटकको चलचित्रमा नयाँ तरिकाले काम गरिन्छ। हरेक चलचित्रमा काम गर्दा शून्यबाट नै सुरु हुन्छ। नयाँ बिउ रोपेर फलाएको जस्तै हो।
पछिल्ला चलचित्र बनाउँदा अनुभवले केही फरक पार्छ तर हरेक चलचित्र मेरो जीवनको बिलकुल नयाँ काम हो भनेर सुरु गर्न जरुरी छ।
५. चलचित्रको सफलता अथवा असफलताले कलाकारको प्रगतिमा कत्तिको प्रभाव पार्छ?
प्रभाव केही न केही हिसाबले हुन्छ। तपाईंले व्यक्तिगत रुपमा यसलाई कसरी लिनुहुन्छ भन्ने कुरा पनि हो। म केही काम गर्दैछु, त्यो शत प्रतिशत सफल हुन्छ भन्ने छैन। मेरो मनमा लागेको कुराले अरुलाई छुन्छ की छुँदैन भन्ने हो। सफलता असफलता पछिको कुरा हो। मान्छेलाई ‘कनेक्ट’ हुन्छ, चर्चा हुन्छ, कहिले हुँदैन र असफल ठहरिन्छ।
जिन्दगी पनि त्यस्तै हो। पृथ्वी गोलो हुन्छ, कहिले घाम लाग्छ कहिले पानी पर्छ भनेको जस्तै जीवन पनि त्यही हो। मेरो काम पनि मेरो जीवनको एउटा हिस्सा हो। सहज रुपमा लिए सहज हुन्छ।
६. प्रयोगात्मक हुनुहुन्छ रे हो?
खासमा मेरो रुचि हुने विषयमा चलचित्र होस्, समाजका वैयक्तिक कथाहरु होस् जस्तो लाग्छ। सायद काममा देखिने कुरा होला। पछिल्लो कामभन्दा अहिलेको काम फरक होस् जस्तो लाग्छ। ‘एक्सपिरिमेन्टल’ चाहिँ मैलेभन्दा पनि हेर्ने दर्शकले भन्ने कुरा हो जस्तो लाग्छ।
७. रंगमञ्चमा २१ वर्ष अनि चलचित्र क्षेत्रमा ९ वर्षको अनुभव छ। यति समयमा तपाईं एउटै विधामा मात्र सीमित हुनुहुन्न, किन होला?
मेरो डेब्यु चलचित्र ‘बधशाला’को निर्देशक मनोज पण्डित हुनुहुन्थ्यो। मोहन डोटेल निर्माता हुनुहुन्थ्यो। मैले चलचित्रमा काम गर्ने अवसर पाए संयोगवश। चलचित्रमा काम गर्छु भन्ने थिएन तर काम गरेपछि मलाई रमाइलो लाग्यो। दया, अर्पण, सौगात लगायतका साथीहरु हुनुहुन्थ्यो। मलाई लाग्यो चलचित्रमा काम गर्दा पनि रमाइलो हुने रहेछ। अरुमा किन काम नगर्ने त भन्ने लाग्यो।
अनि हामी आफै बनाउन थाल्यौँ साथीभाई मिलेर। मेरो श्रीमती पनि सुरुबाट नै सम्बन्धित हुनुहुन्छ। हाम्रो साथीभाइको एउटा सर्कल छ, पारिवारिक माहोल जस्तै बन्यो। साथीहरु मिल्यो गर्यो भयो। कहिले आफ्नै कम्पनीले चलचित्र उत्पादन गर्यो। कहिले आफू लेखक भएँ, निर्देशक भएँ। यसरी नै चलिरहर्यो। त्यसैले गर्दा पनि धेरै कामहरु गरिराखेको हुँदोरहेछु।
यो सबै काम गर्दा मलाई रमाइलो नै लागेको होला, त्यसैले नै म गरिरहेको छु।
८. अभिनय गर्ने व्यक्तिलाई अर्को क्षेत्रमा देखिनुसँग आर्थिक सुरक्षाको कुरा जोडिन्छ कि जोडिँदैन?
मैले चलचित्रमा काम गरेर पैसा कमाएको छैन। मैले गरेका चलचित्र दर्शकहरुले रुचाउनुभएको छ, चर्चा भइरहेको छ। बाहिरबाट हेर्दा आर्थिक रुपमा अस्थिर भएर फरक–फरक पद अथवा काममा उभिएको हो कि भन्ने लाग्ला। तर म चलचित्रबाट नै जीवन चलाउँछु भनेर मैले सोच्दा पनि सोचिनँ, अहिले पनि त्यो सोच छैन। पहिला जागिर खाएँ, नाटक गरेँ, कृषि कर्मतिर नजिक भएँ, सानोतिनो व्यवसाय पनि भइरहेको हुन्छ। कतिपय काममा साथीभाइसँग मिलेर गइन्छ। जीवन नै एक्सपेरिमेन्ट हो जस्तो लाग्छ।
यो गरिरहँदा मेरो जुन काम हो, लेखन, सिनेमा बनाउने, अभिनय गर्ने कामलाई असर पर्न दिन्न। मेरा एक वर्षमा एउटा अथवा दुई ओटा मात्र चलचित्र आएका छन्। त्यो भन्दा बाहेक आर्थिक रुपमा समस्यामा परेको कुराले तनाव दिँदैन।
म सामान्य परिवारमा जन्मेको मान्छे हो। जीवन कसरी सहज बनाउने भन्नेमा लाग्छु। मलाई धेरै पैसा पनि चाँहिदैन । बाँच्न सजिलो छ, त्यसैले पनि मैले फरक–फरक काम गरेको हुँला। मैले पनि यही कारणले फरक–फरक काम गरेको हो भन्ने मलाई नै थाहा पाएको छैन।
९. चलचित्र क्षेत्रमा झण्डै १० वर्ष समय बिताउँदा यो क्षेत्रलाई कसरी हुर्केको देख्नुभएको छ?
मैले चलचित्रमा काम गर्न सुरु गरेको बेलामा चलचित्रमा ‘आफ्ना कथा हुनुपर्छ’ भन्ने चलन सुरु भइसकेको थियो। चलचित्रमा हाम्रा परिवेशका पात्रको सिर्जना गर्नुपर्छ। हाम्रो कथा भन्नुपर्छ भन्ने कुरा चलचित्रकर्मीमा थियो। अहिले यही निरन्तरता छ। पहिलाको ठाउँभन्दा माथि आएको छ, अझै धेरै कुरा आउन बाँकी छ।
हामीजस्ता नाटकमा काम गरेका कलाकारहरुको लागि सही समय कसरी भइदियो भने, हाम्रा कथाहरु हामी आफैले भन्नुपर्छ भन्ने मान्यता सुरु भएपछि चलचित्रमा काम गर्ने अवसर हामीले पायौँ। नत्र भने म चलचित्रको भाषामा हुनुपर्ने नायकको पात्र जस्तो म देखिन्न।
यो समयले बनाइदियो। संयोग मिल्यो।
१०. नाटक निर्देशनको अनुभवले चलचित्र निर्देशन गर्नलाई कत्तिको सहयोग गर्यो?
सिनेमाको निर्देशकलाई टीम क्याप्टेन भन्छ। अनुभवले सहयोग त पक्कै गर्यो। नाटकलाई ‘एक्टरको मिडियम’ भन्छन्, चलचित्रलाई ‘डिरेक्टरको मिडियम’ भन्छन्। त्यसको बहस छुट्टै होला।
तर ४/५ ओटा नाटक निर्देशन गरिसकेको मेरो अनुभव थियो। चलचित्र फरक क्षेत्र हो तर त्यो केही चिजहरु जस्तो अभिनेतालाई कसरी काम गराउने, पात्र विकासमा एउटा निर्देशकले कसरी मद्दत गर्ने भन्ने अभ्यासले सहयोग पनि गरेको छ।
११. अब तपाईं सिनेमालाई अनलाइन अर्थात ओटिटी प्लेटफर्ममा लैजाँदै हुनुहुन्छ। कसरी अगाडि बढ्नु हुन्छ होला?
म चलचित्र प्रदर्शनको दौरान केही देशहरुमा पुग्ने अवसर पाएको छु। त्यहाँ कति दुःख गरेर नेपाली दर्शकले नेपाली चलचित्र हेर्न आउँछन्। देखाउने प्रदर्शकलाई चलचित्र देखाउन कति धेरै समस्या छ। मलाई पनि नेपाली हलमा जस्तै विदेशमा पनि देखाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो।
केही समयपछि मैले ओटीटी एप ‘सिनेमा एप’ लञ्च हुँदैछ भन्ने सुनेको थिए। स्टेशन ५ मा सागर खरेलजीसँग भेटघाट भयो। उहाँ यो प्रोजेक्टको महत्वपूर्ण व्यक्तित्व हुन्नुहुन्छ। यो उहाँकै कन्सेप्ट हो।
पछि उहाँसँग सहकार्य गर्ने अवसर जुट्यो। म आफू पनि सपना देख्ने मान्छे, सागर जीको सपनालाई पूरा गरौँ भनेर साथ छौँ। अहिले सागर लगायत अरु साथीहरु समूहमा छौँ। केही अगाडि सिनेमा घर आइसकेको थियो, अहिले यसलाई अझै प्रभावकारी ढंगबाट ल्याउने तयारी गरिराखेका छौँ। दर्शकलाई सजिलोसँग चलचित्र हेर्न मिल्छ भन्ने वातावरणको अन्तिम चरणमा छौँ।
१२. अभिनय गर्दा सजिलो कि टीम क्याप्टेन भएर काम गर्न सजिलो त?
यसका आफ्नै मजा अनि चुनौतीहरु छन्। अभिनय मात्र गर्नु र पूरै समूहलाई नेतृत्व गरेर अगाडि जानु जोखिमपूर्ण हुन्छ। अभिनेतालाई आफ्नो अभिनयमा मात्र केन्द्रित भए हुन्छ अनि चलचित्र प्रदर्शनको समयमा उसको भूमिका हुन्छ।
तर निर्देशकले कलाकारलाई अभिनयको बेलामा पनि हेनुपर्ने हुन्छ, काम निकाल्नुपर्ने हुन्छ। निर्देशकको अर्को काम भनेको व्यवस्थापनसँग कसरी व्यवहार गर्ने भन्ने पनि हुन्छ। म जुन क्षेत्रमा आफू काम गर्छु नि त्यसमा म धेरै नै रमाउँछु, पछि पनि रमाउँछु नै होला।
१३. तपाईँले भन्नुभयो–आनन्दले चलिरहेको छ। सधैँ यस्तै हुन्छ होला अथवा सबैजना यत्तिकै आनन्दले जान मिल्छ होला?
म अरुको कुरा भन्न सक्दिनँ, तर मेरो कुरा गर्ने हो भने चाहीँ सक्छु। किनभने मेरो जीवन एकदमै साधारण छ। म महत्वकांक्षा राख्दिनँ।
जुन काम अथवा कुरालाई मैले गरेरै छोड्छु भनेको हुन्छु त्यो मेरो सिर्जनात्मक काम हुन्छ। जस्तो म लेख्ने काम गर्छु, मसँग ल्यापटप छैन भने म हातले लेख्छु तर मसँग ल्यापटप छैन भनेर म दुःखी हुँदिन। किनकी मैले पहिला हातले लेख्दै आएको हो।
जीवनको उतार चढावलाई आत्मसाथ गरिदियो भने सजिलो हुन्छ। जीवन दुःखी बन्ने आफूले गर्दा हो, अरुले बनाइदिने हैन। सहज जीवनलाई अप्ठेरो बनाएँ भने म आफै दुःखी हुने हो। मेरो दृष्टिकोण हो।
सफलताको जुन खालको परिभाषा छ, यदि म त्यति सफल भएपनि मेरो जीवन त्यही हो, असफल भएँ भनेपनि मेरो जीवन त्यही हो।
१४. पानी फोटो आँउँदै छ, केही भन्न चाहनुहुन्छ ?
त्यही त पानी फोटो आउँदै छ तर कहिले आउँदैछ थाहा छैन। दर्शकलाई भन्नु पर्ने केही छैन। मलाई दर्शकले चिन्नुभएको छ, मेरो कामलाई रुचाउनु भएको छ। मैले पहिला जस्तो कोशिस गर्थेँ अहिले पनि त्यस्तै अर्को रुप हो यो।
म इमानदार भएर काम गरेको छु। त्यो चिज मलाई मन परेर गरेको हुँ। त्यो चिजले सायद दर्शकको मन पनि छोला भन्ने आशा गरेको छु। हेरिसकेपछि जे लाग्छ त्यही भनिदिनुहोला। कसैलाई राम्रो लागेको कुरा कसैलाई नराम्रो पनि लाग्न सक्छ। फरक विचारलाई हामी आत्मसाथ गर्छौँ।