
दाङ – लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता (टी–२०)मा विजयी सुरुवात गरेको छ। लुम्बिनीले पहिलो खेलमा प्रदेश नम्बर २ लाई ९ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको हो।
जितका लागि ७८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १६.१ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ। लुम्बिनीकी गीता गोसाई ४२ बलमा २ चौका सहित २३ रनमा अविजित रहिन्। कप्तान नेरी थापा १३ बलमा २ चौका सहित १५ रनमा अविजित रहिन्।
पहिलो विकेटका लागि गीता गोसाई र सरस्वती घर्ती मगरले १२ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। सरस्वतीलाई कविता गौतमले २२ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएकी थिइन्। उनले ४२ बलमा १ चौका प्रहार गरिन्। प्रदेश २ की मध्य गतिकी बलर कविता गौतमले १ विकेट लिइन्। अन्यले विकेट लिन सकेनन्।
त्यसअघि लमहीको देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको प्रदेश नम्बर २ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७७ रन बनाएको थियो। प्रदेश २ का लागि ओपनर सना प्रविन र अनु चौधरीले सर्वाधिक २१–२१ रनको योगदान दिएका थिए। स्पिनर गिता गोसाईको १३ औं ओभरको चौथो बलमा अघि सेरर सट खेल्नेक्रममा अनुराधा विकेट किपर नितुबाट स्टम्पिङ हुन पुगेकी थिइन।
उनले ४१ बलमा १ चौका प्रहार गरिन्। १९ औँ ओभरको अन्तिम बलमा बिमला मगरलाई सुस्मिताले १० रनमा एलबिडब्लू आउट गरिन्। उनले १४ बलमा १ चौका प्रहार गरिन्। लुम्बिनीकी सुस्मिता भुषालले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन्।
स्वस्तीका बजागाईंले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिइन्। स्पिनर गिता गोसाईको नाममा १ विकेट लिइन्। दोस्रो खेलमा लुम्बिनीले आइतबार कर्णाली प्रदेशविरुद्ध खेल्ने छ। आइतबार प्रदेश नम्बर २ ले एपिएफसँग खेल्ने छ। आज दोस्रो खेलमा एपिएफले कर्णालीको सामना गर्दैछ।