
वीरगञ्ज– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लैङ्गिक हिंसा न्यूनिकरणका लागि शिक्षामा जोड दिनुपर्ने बताएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार वीरगञ्जमा आयोजना गरेको ‘लैङ्गिक हिंसा न्यूनिकरण एवं पीडित सहायतामा एकीकृत प्रयासको अपरिहार्यता’ विषयक कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन्।
मुख्यमन्त्री राउतले प्रदेशको सामाजिक संरचनालाई मध्यनजर गर्दै प्रदेश सरकारले ‘बेटी पढाउ , बेटी बचाउ’ अभियान सञ्चालन गरेको र उक्त अभियानले लैङ्गिक हिंसा न्यूनिकरणमा मद्दत पुर्याउने विश्वास व्यक्त गरेका थिए।
महिलाहरुको सशक्तिकरणका लागि प्रदेश सरकारले शिक्षाका साथै हरेक निकायमा समानुपातिक प्रतिनिधित्वका लागि प्रहरी लगायत निजामती सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको उनले जानकारी दिए।
लैङ्गिक हिंसा न्यूनिकरण तथा पीडितहरुको न्यायका लागि प्रदेशमा छुट्टै कानुन निर्माण गरिनेसमेत मुख्यमन्त्री राउतको भनाइ थियो।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा विघटित प्रतिनिधिसभा सदस्य प्रदिप यादव , प्रदेश सभा सदस्य करिमा बेगम, रमेश पटेल , वीरगञ्ज महानगरका प्रमुख विजय सरावगीसहितका वक्ताहरुले सम्बोधन गरेका थिए।
कार्यक्रममा प्रहरी उपरीक्षक गंगा पन्तले पर्सा जिल्लामा लैङ्गिक हिंसाको अवस्था प्रस्तुत गरेकी थिइन्।