
वीरगञ्ज– पूर्व सभासद बिचारी यादवले प्रधानमन्त्री केपी ओली कम्युनिष्ट आन्दोलन विरोधी देखिएको आरोप लगाएका छन्।
पर्सामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहको अगुवा कार्यकर्ता भेलामा बोल्दै यादवले प्रधानमन्त्री ओली गणतन्त्र र संघीयता विरोधी रहँदै आएकोमा पछिल्लो समय कम्युनिष्ट आन्दोलन विरोधी देखिएको बताएका हुन्।
उनले मदन भण्डारीले नै ‘केपी ओलीलाई कुनै ठाउँ नदिनु, यसले दुर्घटना गराउँछ’ भनेको दावी गरे। मदन भण्डारीले भनेको कुरा अहिले मिलेको पनि यादवले बताए।
उनले भने, ‘हामीहरुलाई मदन भण्डारीले भनेर गएका थिए, केपी कमरेडलाई कुनै ठाउँ नदिनु यसले दुर्घटना गराउँछ। आज आएर त्यो पुग्यो, यो दिन आज आएर हेर्नु पर्यो।’
उनले आफूहरुले १० वर्ष काम गरेपछि मात्रै कम्युनिष्ट पार्टीको सदस्यता पाएको तर, अहिले ओली पक्षले मानिसहरुलाई जबर्जस्ती केन्द्रीय सदस्य बनाइरहेको बताए।
उनले आफूलाई ईश्वर पोखरेलले भेट्न बोलाएपनि नगएको बताए।
उनले भने, ‘मलाई ईश्वर पोखरेलले फोन गरेर भेट्न बोलाएका थिए। तर मैले पार्टी बर्बाद गरेपछि मात्रै सम्झिनु भयो भनेर जवाफ दिएँ।’
प्रचण्ड–नेपाल समूहको भेलालाई सम्बोधन गर्दै प्रदेश सदस्य छोटेलाल यादवले संसद विघटनले राजावादीहरुलाई फाइदा पुगेको बताए।