
वीरगञ्ज– संसद विघटनको विरोधमा मंगलबार वीरगञ्जमा नेकपा दाहाल–नेपाल पक्षले प्रदर्शन गरेको छ। संसद विघटनको विरोधमा र्यालीसहित प्रदर्शन गरिएको हो।
रानिघाटस्थित नेकपाको पार्टी कार्यालयबाट निस्किएको विरोध र्याली घण्टाघर, माइस्थान, महाबिरस्थान,आदर्शनगर, गीता मन्दिर हुँदै फेरि घणटघरमै आएर कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य नागेन्द्र चौधरीले संसद विघटनपछि भएको मन्त्रिमण्डल विस्तारमा केही नेताहरु पद र पैसाको लोभमा मन्त्री भएको बताए।
नेकपा प्रदेश २ का सह–इन्चार्जसमेत रहेका चौधरीले पद र पैसाका लागि अहिले मन्त्री बनेकाहरुको भण्डाफोर र बहिस्कार गर्नुपर्नेमा जोड दिए।
‘अहिले भर्खरै मन्त्रिमण्डल पनि बिस्तार भएको छ, केही नेताहरू पद र पैसाको लोभमा मन्त्री पनि भएका छन्,’ चौधरीले भने, ‘यस्ता मन्त्रीहरुको भण्डाफोर र बहिस्कार गर्नुस्।’
प्रतिगमनको विरुद्धमा आजदेखि फेरि आन्दोलनमा उत्रिएको र संसद पुनर्स्थापना नभएसम्म आन्दोलन नरोकिने उनले बताए।
यस्तै नेकपा केन्द्रीय सदस्य उर्मिला अर्यालले प्रधानमन्त्रीले आफू खुसी संसद विघटन गरी अपराध गरेको बताइन्।
विरोध सभामा पूर्व सभासद बिचारी यादव, विघटित प्रतिनिधि सभाकी सांसद शेष चाँद तार, नेकपा केन्द्रीय सदस्य रामचन्द्र साह, प्रदेश सदस्य छोटेलाल यादव, वीरगञ्ज महानगर इन्चार्ज अशोक राई, महानगर अध्यक्ष रहबर अन्सारी लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।