मोरङ– प्रदेश १ मा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार ३ सय ५८ जनाको पीसीआर परीक्षण गरिएको थियो। जसमा १५ महिला र ११ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिकामा ५, उर्लाबारी, पथरीशनिश्चरे र लेटाङमा नगरपालिकामा समान २, रतुवामाई र बेलबारी नगरपालिकामा समान १ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरि सुनसरीको इटहरी उपमहानगरपालिकामा ६ र कोशी गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ।
पहाडी क्षेत्रतर्फ धनकुटामा २, पाँचथरको फिदिम र भोजपुरमा समान १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजिटिभ आएको हो। यससँगै प्रदेशमा हालसम्म संक्रमितको संख्या २९ हजार ८ सय ६९ पुगेको छ।
यस्तै प्रदेशमा आइतबार १ सय ३३ जना निको भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार प्रदेशका विभिन्न होमआइसोलेसनबाट १ सय ३०, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, झापास्थित मेची अस्पताल र बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालबाट समान १ जना डिस्चार्ज भएका हुन्।
प्रदेशमा यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ६ सय ५८ पुगेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































