जनकपुरधाम– जनकपुरधाममा रहेको मिथिला नाट्यकला परिषद् (मिनाप) को नयाँ कार्यसमिति अवैधानिक रुपले चयन गरिएको भन्दै संस्थाका केही सदस्यहरुले असन्तुष्टि जनाएका छन्।
शनिबार मिनापको ४१ औँ साधारणसभाको क्रममा नियम विपरित अध्यक्षमण्डलद्वारा एकपक्षीय रुपमा संस्थाको विधान र धारा उपधारालाई समेत ख्याल नगरी नयाँ कार्यसमितिको चयन गरिएको आरोप लगाइएको छ।
अध्यक्षमण्डलले सर्वसम्मत कार्यसमिति चयन गर्न नसकेपछि नियम संगत चुनाव नगराई उल्टै दवाव र प्रभावमा परेर विभिन्न पदमा परेको उम्मेदवारी र विरोधलाई बेवास्ता गर्दै एकलौटी निर्णय सुनाएकोप्रति आफूहरुको गम्भीर आपत्ति रहेको सचिव पदका उम्मेदवार घनश्याम मिश्रले बताए।
आफूहरुको उम्मदेवारी अझैपनि कायमै रहेको भन्दै उनले अध्यक्ष पदमा तीन जना, सचिवमा दुई जना र कोषाध्यक्षमा एकजनाले मात्र उम्मेदवारी दिएको अवस्थामा सदस्यहरुको मताधिकारको हनन् गर्दै सात सदस्यीय अध्यक्षमण्डलका संयोजक रमेश रञ्जन झाले मौखिक रुपमा नयाँ कार्यसमितिको घोषणा गर्नु आफैमा हाँस्यास्पद र काुनन विपरित रहेको बताए।
लोकतान्त्रिक मूल्य मान्यता विपरित गरिएको यस कार्यविरुद्ध आफूहरुको असहमति रहेको र पाँच दिनभित्र विधानसम्मत निर्वाचन नगराइए काुननी उपचारमा जान बाध्य हुने अध्यक्ष पदका उम्मेदवार ललित कामले बताए।
उनले संस्थाको पदाधिकारी भएर पनि मिनापमै बसेर विभिन्न फरक नामका गैरसरकारी संस्था संचालन गर्ने व्यक्तिहरुको हालीमुहालीका कारण मिनाप र मिनापसँग आवद्ध कलाकारहरु आर्थिक रुपमा कमजोर हुँदै गइरहेको बताए। साथै उनले साधारणसभामा सदस्यहरुद्वारा मिनापको लेटरप्याडको दुरुपयोग भइरहेको आवाज उठिरहँदा त्यस्तै व्यक्तिहरुलाई नयाँ कार्यसमिति लिष्टमा राखेर गैरवैधानिक तवरले गरिएको मौखिक घोषणालाई आफूहरु अस्वीकार गर्ने बताए।
यस विषयमा अध्यक्षमण्डलले आफ्नो आधिकारिक धारणा बाहिर नल्याए आफूहरु कडा संघर्षको कार्यक्रममा जाने कोषाध्यक्ष पदका उम्मेदवार सुरेन्द्र कुमार रायले चेतावनी दिएका छन्।
मिनाप मैथिली साहित्य, कलाको क्षेत्रमा काम गर्छ। मिनापकै आयोजनामा जनकपुरधाममा मनाइने महामुर्ख सम्मेलन प्रसिद्ध रहेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































