अमेरिकी संसदमा हिंसा भड्किएको २४ घण्टापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियो ट्विट गरेर हिंसात्मक घटनाको निन्दा गरेका छन्।
उनले भिडियोमार्फत हिंसा भड्काउने कार्यमा संलग्न भएकाहरुप्रति खेद व्यक्त गरेका छन्। साथै उनले आफू ‘व्यवस्थित’ सत्ता हस्तान्तरण गर्न प्रतिवद्ध रहेको पनि बताएका छन्।
उनले भिडियोमा भनेका छन्, ‘म संसदमा भएको हिंसा बारे सुरुमा कुरा राख्न् चाहन्छु । सबै अमेरिकी जस्तै यो घटनाबाट म पनि दुःखी छु। मैले तुरुन्तै घुसपैठ गरेका व्यक्तिहरुलाई निकाल्न र सुरक्षा कायम गर्न निर्देशन दिएको थिए।’
तर कतिपय सञ्चार माध्यमहरुले त्यहाँ सुरक्षा बलको तैनाथी उपराष्ट्रपति माइक पेन्सको निर्देशनमा भएको उल्लेख गरेका छन्। समाचारहरुमा जनाइए अनुसार ट्रम्प त्यसको विरोधमा थिए।
ट्रम्पले आफ्नो भिडियो सन्देशमा अमेरिकालाई सधैँ एक कानुनी व्यवस्था भएको देश बनाइराख्नु पर्ने बताएका छन्। साथै उनले संसदमा हिंसा मच्चाउनेहरुले अमेरिकी लोकतन्त्रलाई अपवित्र बनाएको पनि बताएका छन्।
— Donald J. Trump (@realDonaldTrump) January 8, 2021
उनले भने, ‘ जो मानिसहरु हिंसात्मक घटनामा संलग्न थिए उनीहरु हाम्रो देशको प्रतिनिधित्व गर्दैनन्, र जसले कानुन तोडेको छ उसले कारबाही भोग्नुपर्छ।’
राष्ट्रपति ट्रम्पले भिडियो सन्देशमा आफू ‘व्यवस्थित’ सत्ता हस्तान्तरणका लागि तयार रहेको बताएका छन्।
उनले भनेका छन्, ‘नयाँ प्रशासन जनवरी २० मा आउने छ र सुचारु, सुव्यवस्थित र निर्बाध सत्ताको हस्तान्तरणका लागि म बाचा गर्दछु।’
अमेरिकी संसदमा भएको हमलापछि ट्रम्प ट्विटरमा फर्केका छन्। तर फेसबुक, इन्स्टाग्राम लगायतका उनका अकाउन्ट अझै लक गरिएका छन्।
ट्रम्प सामाजिक सञ्जालमार्फत समर्थकहरुलाई अमेरिकी चुनावको नतिजा नमान्न अपील गरिरहेका थिए।
समर्थकहरुलाई भड्काएका कारण संसदमा हमला भएको आरोप पनि ट्रम्पलाई लागेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































