
झापा – झापा दमकको बेल्डाँगी भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक जना शरणार्थीको जलेर मृत्यु भएको छ।
मृत्यु हुनेमा भुटानी शरणार्थी शिविर सेक्टर डी ४ हट नम्बर ३२५ का ६० वर्षीय देशमान राई रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार टिन र बाँसको टाटी बेराले बनाएको घरमा सोमबार साँझ साढे ७ बजेको समयमा आगलागी भएको थियो।
सोही आगलागीमा परेर घरभित्र रहेका राईको जलेर मृत्यु भएको डिएसपी थापाले बताए।
शारीरिक रुपमा अशक्तताका कारण घरबाट बाहिर निस्किन नसक्दा राईको मृत्यु भएको बताइएको छ।
घरभित्र रहेका परिवारका अन्य दुई जना सदस्य बाँच्न सफल भएका छन्।