कोरोनाले अटो चालक संकटमा, ब्याज तिर्नै सकस

+
-

काठमाडौँ– ‘दुई वर्ष दुबईमा बसेँ। खाडी देशमा जाँदा धेरै समस्याहरु आए। केही हदसम्म घरको तनाव पनि भयो। सबै कुरा छोडेर जाँदा समस्याहरु देखापरेको कारणले गर्दा स्वदेशमै केही गर्न सकिन्छ कि भनेर आफ्नै घर फर्किएँ,’ मनहर–१ मकवानपुर बस्ने ४४ वर्षीय राजन चेपाङ प्रजाले आफू विदेशबाट फर्किनुको कारण खुलाए।

उनी अचेल अटो चलाउँछन्। एक वर्ष भयो उनले लोनमा अटो किनेर चलाउन थालेको।

केही पैसा कमाएर आएका उनले अटो व्यवसायमा केही गर्छु भन्ने सोचेका थिए तर यही व्यवसायले अहिले उनी अप्ठ्यारोमा परेका छन्। उनी भन्छन्, ‘फेरि अब विदेश जाने प्रक्रियामा छु। पासपोर्ट रिन्यू गरेर एजेन्टमा हालिसकेको छु।’

राजन चेपाङ प्रजा।

लकडाउनले गर्दा वित्तीय संस्थामा ब्याज तिर्न निकै नै गाह्रो भएको बताउँछन् उनी। उनी थप्छन्, ‘लकडाउनभन्दा अगाडि अटो चलाएर बिहान बेलुकीको छाक टार्न सजिलो थियो तर अहिले त अटो धेरै छन् चढ्ने मान्छे छैनन्।’

नेपालमै बसेर काम गर्छु भन्दा पनि आफूसँग पूँजी नभएको बताउँछन् उनी। भन्छन्, ‘वित्तिय संस्थासँग हामी ऋण माग्न जान्छौँ। तर त्यहाँ ऋण लिँदा २५–३० प्रतिशतको व्याजले पैसा लिन पनि गाह्रो हुन्छ।’

लकडाउनको अवधिभर सरकारले ब्याज तिर्न नपर्ने भनेपनि आफूले निरन्तर ब्याज तिरिरहेको बताउँछन् राजन।

यस्तै ५३ वर्षीय जमानसिंह लामाले डेढ वर्ष भयो हेटौँडामा अटो चलाउन सुरु गरेको। अटो चलाउनुभन्दा पहिले उनको किराना पसल थियो। त्यसअघि काठमाडौँमा थान्का पनि लेख्थेँ। पछि आँखाको समस्या भएपछि उनले त्यो काम छोडे।

सुरुसुरुमा अटो चलाएर केही फाइदा हुने भएपनि हाल भने बिग्रेको अटो बनाउन पैसासमेत नउठ्ने बताउँछन् उनी।

उनी भन्छन्, ‘अटो चलाएर घर परिवारलाई धान्ने कुरा त सपना जस्तै हो। साथीभाइ भेट हुन्छ, गफगाफ हुन्छ, यो उमेरमा जागिर पनि पाइँदैन गर्नलाई।’

जमानसिंह लामा।

लकडाउनमा धेरै नै समस्या परेको बताउँछन् उनी। ‘कुनै बिरामी अस्पतालसम्म जान पर्ने हुन्थ्यो। बिरामी लिएर आएका छौँ भनेर कागजपत्र देखाउँदा पनि हामी कारबाहीमा परेका छौँ।’

सरकारबाट कुनैपनि किसिमको सहयोग नपाएको बताउँछन् उनी। भन्छन्,‘हामी कमाएर खानुपर्ने मान्छे हो, कमाएर केही गरुँला भन्ने छैन। ब्याजमा सहयोग गर्दिए हामीलाई पनि अलिकिति सहज हुने थियो।’

हेटौँडामै बस्ने ४५ वर्षीय राजेन्द्र घिमिरे पनि विगत ५ वर्षदेखि अटो चलाइरहेका छन्। उनी भन्छन्,‘पहिला इलेक्ट्रिक अटोहरु आए त्यसमा पनि म थिएँ, अहिले पेट्रोलियम अटोमा पनि म छु।’

करिब १२ वर्ष भारतमा काम गरिसकेपछि उनी आफ्नै देश फर्किए। सुरुवाति दिनमा अटो व्यवसायबाट राम्रो कमाइ गरिरहेका उनी आजभोलि भने सन्तुष्ट छैनन्।

किस्तामा लिएको अटो चलाएर घर खर्च टार्दै आएका घिमिरेलाई अहिले अटो किन्दा लिएको ऋणको किस्ता कसरी तिर्ने भन्ने ठुलो चिन्ता छ।

राजेन्द्र घिमिरे।

उनी भन्छन्, ‘लकडाउनले धेरै नै गाह्रो भयो। किस्तामा लिएको अटो हो। सरकारले पहिला ब्याज मिनाहा गर्छु भन्यो तर अहिले ब्याजसहित सबै कुरा असुलेको छ।’

अहिलेको स्थितिमा अटो व्यवसाय धरासायी अवस्थामा पुगेको बताउँछन् उनी। भन्छन्,‘ महिना पिच्छे १५ देखि १७ सय रुपैयाँ संघहरुले लिन्छन् तर केही दुर्घटना पर्‍यो भने किस्तामा लिएको अटोको हामी आफैले खर्च गर्नुपर्छ।’

लाइसेन्स विना नै करिब ७५ प्रतिशतले अटो चलाउने बताउँछन् उनी। भन्छन्, ‘अटो चलाउँदा सी क्याटगोरीको लाइसेन्स हुन्छ, तर यहाँ त करिब २५ प्रतिशत जतिको मात्र लाइसेन्स छ। लाइसेन्स पनि महिनामा १–२ पटक मात्र चेक हुन्छ।’

खेती पनि नभएकाले अटो बाहेक अन्य आयआर्जनको स्रोत नभएको बताउँछन् उनी। अटोबाट बिहान बेलुकी छाक टार्न सकिन्छ भन्ने उनको आशालाई कोरोना महामारीले निराशामा बदलिएको छ।

फोटो/भिडियोः मन्दिरा राउत।  

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?