
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्नुअघि न्यायाधीशहरुलाई बेग्लाबेग्लै भेटेको दाबी राज्यव्यवस्था समितिका पूर्वसभापति शशि श्रेष्ठले सर्वोच्चको संवैधानिक इजलासमा गरेकी छन्।
प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा राज्यव्यवस्था समितिका पूर्वसभापति तथा दाहाल-नेपाल नेतृत्वको नेकपाकी नेतृ श्रेष्ठले शुक्रबार भनिन्- ‘प्रधानमन्त्री ओलीले संसद विघटनअघि गत मंसिर २६ गते दुई जना न्यायाधीश र मंसिर २७ गते दुई जना न्यायाधीशलाई भेट्नुभएको छ। उहाँले किन सर्वोच्चका न्यायाधीशहरुसँग भेट गर्नुभयो?’
श्रेष्ठको दाबीअनुसार प्रधानमन्त्री ओलीले मंसिर २६ गते न्यायाधीशहरु हरिकृष्ण कार्की र सपना मल्ल तथा मंसिर २७ गते दीपककुमार कार्की र मीरा केसीलाई भेटेको दाबी श्रेष्ठले इजलासमा गरेकी थिइन्।
जवाफमा प्रधानन्यायाधीश श्रेष्ठले ‘यस्तो कुरा नगर्नुस्’ भनी जवाफ दिएका थिए।