
काठमाडौँ- प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ।
आर्मीले शुक्रबार भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९८ रनले पराजित गर्यो। पहिला ब्याटिङ गरेको आर्मीले कप्तान विनोद भण्डारीको सतकीय पालीमा ६ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो।
विनोदले एक सय ११ रन बनाए। विकेटकिपर राजु रिजालले ४५, लोकेश बमले ४२ र राजेश पुलामीले ३८ रन बनाए। विनोदले ७६ बलमा पाँच छक्का र नौ चौका प्रहार गरे। पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेको आर्मीले छैटौँ विकेटका लागि एक सय ३ रनको साझेदारी गरेको थियो।
गण्डकीले ४८ ओभरमा सबै विकेट गुमाएर एक सय ८९ रन मात्र जोड्न सक्यो। आर्मीका बलर राजेश पुलामी एक्लैले पाँच विकेट लिए। उनले ९ ओभरमा दुई मेडन राखेर २५ रनमात्र खर्चिए। सात ओभरमा २६ रन खर्चिएका भीम सार्कीको नाममा तीन विकेट रह्यो। आकाश चन्द र रोहित पौडेलले एक एक विकेट हात पारे।
गण्डकीका लागि समिर पौडेलले सर्वाधिक ५० रन बनाए। अर्जुन कुमालले ३६ र कप्तान विपिन खत्रीले अविजित ३७ रन जोडे। गण्डकीले सात रन जोड्दा ओपनर दीपेश खत्रीलाई व्यक्तिगत एक रनमा गुमाएको थियो। सतकीय पाली खेलेका विनोद प्लेयर अफ दी म्याच घोषित भए।