
काठमाडौँ- सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ्गले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ प्रतियोगिताको उपाधी उचालेका छन् ।
सेमिफाईनलमा शिर्ष बरियताका रत्नजितलाई पराजित गरेका प्रिन्सले फाईनलमा एपिएफका दिपेश धामीमाथी २१-१८, २१-१३ को सोझो सेटमा पराजित गरे। प्रिन्स दुई दिनअघि मात्र विश्व ब्याडमिन्टनको जुनियर वरियतामा तेस्रो स्थानमा उक्लिएका थिए।
गोलबजार कभर्डहलमा भएको महिला एकलको उपाधि भिडन्तमा जेशिकाले राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनलाई १८-२१, २१-१५ र २२-२० को सेटमा हराइन्। जेशिकाले पुष्पलाल मेमोरियल ब्याडमिन्टनको उपाधि जितेको यो दोस्रोपटक हो। यस अघि ईटहरीमा भएको सातौ पुष्पलाल स्मृतीमा पनि जेशिकाले उपाधी उचालेकी थिईन् ।
पुरुषतर्फ शीर्ष-१६ र महिलातर्फ शीर्ष १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
पुरुष युगलतर्फको स्पर्धामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले उपाधी उचाल्यो । सेनाका जोडीले सेनाकै सुरोज महर्जन र पविन लिनथेपको जोडीमाथी २१-१९, १९-२१ र २१-१३ को जित निकाल्दै उपाधी जितेको हो ।
महिला युगलतर्फ पनि सेनाले उपाधी उचाल्यो । सेनाका राष्ट्रिय च्याम्पियन रशिला महर्जन र अमिता गिरीको जोडीले एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडीलाई फाइनलमा २१-१८ र २१-१२ ले पराजित गर्यो।