
चिलाएछ टाउको धेरै जुम्रा पर्या हो कि
राजनीति विदेशीको खुरमा पर्या हो कि
खानेकुरा बाँकी छैन यो मन के के भन्छ
हजामको ट्वाक्क जस्तो लाठी खान मन छ ।
जुठै खाउँ सँगै खाउँ मिलाएर खाउँ
खुवाउनेका नामहरू भिडाएर खाउँ
हाँडीघोप्टे हन्तकाले भोको म हुँ भन्छ
आफ्नै हातले ट्वाक्क लाठी शीरमा खान मन छ ।
कसले दियो साथ मलाई कसले दियो हात ?
नबुझेको कहाँ छु र ! कसले दियो घात
ऋषि ‘मुनि’ शिव ‘शरण’ प्रभु छोड्न मन छ
कहाँ पसेँ कस्तो फसेँ लाठी खान मन छ ।
कलेँटीमा माँड छैन पलेँटीमा नारा
जन्ता ठग्ने नेताजीका कोखाभित्र दाह्रा…
यस्तै सुन्छु अत्तालिन्छु आरनमा घन छ
घनले ठोकुँ सारै दुख्छ लाठी खान मन छ ।