
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले आफ्नो संस्कृति बिर्सिएर पश्चिमा संस्कृति अंगाल्न खोज्दा आदर गर्ने संस्कार लोप हुन थालेको बताए।
‘अंग्रेजले जसलाई पनि यू भन्छन्। हामीले आफूभन्दा साना र आफूभन्दा ठूलालाई प्रयोग गर्ने आदर फरक हुन्छ तर पश्चिमा संस्कृतिलाई अंगाल्न खोज्दा आदर गर्ने संस्कार बिर्सिएको देखिन्छ’, उनले भने।
उनले राजतन्त्रका बेला राजालाई प्रयोग गर्ने भाषाको उदाहरण दिँदै भने, ‘त्यतिबेला राजालाई आदर पूर्वक भाषा प्रयोग गरिन्थ्यो। अहिले हामी गरे, खाए जस्ता शब्दहरु प्रयोग गर्छौँ। यो पश्चिमा संस्कारलाई आत्मसात गर्न खोज्दा देखिएको स्थिति हो’, नेकपाका ओलीनिकट नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै उनले भने।
उनले नागरिकता भएकै भरमा राष्ट्रभक्ति नहुने भन्दै अगाडि थपे, ‘ राष्ट्रवाद भनेको तमासा गर्ने कुरा हो?’
संम्बोधनका क्रममा उनले भारतीय टेलिभिजन पत्रकार सुधिर चौधरीले सगरमाथालाई भारतले आफ्नै नाम दिनुपर्ने रिपोर्टको बचाउ पनि गरे। ‘पहिलोपटक उनिहरुको नागरिकले नापेकाले आफ्नै नाममा सगरमाथालाई सबोधन गर्नु पर्छ भने। यसमा हामीले किन टाउको दुखाउने। किन तमासा गर्ने?’ नेकपाका प्रचण्ड-माधवकुमार नेपाल पक्षसहितले गरेको विरोधलाई संकेत गर्दै उनले भने।