
सिमकोट– दुई वटा गाउँपालिकामा विद्युत सेवा प्रदान गर्दै आएको हुम्लाको हिल्दुम जलविद्युत आयोजनाको विद्युत आपूर्ति बन्द भएको छ।
पावर हाउसमा जडान गरिएको पेनस्टिक पाइप मर्मत गर्नुपर्ने भएपछि शनिबार बिहानबाट विद्युत आपूर्ति बन्द गरिएको वितरण केन्द्रका प्रमुख साजन ऐडीले जानकारी दिए।
पेनस्टिक पाइपमा पानी चुहिने समस्या आएपछि मर्मत गर्नुपरेको र यसका लागि प्राविधिक टोली मर्मत स्थलमा काम गरिरहेको ऐडीले बताए।
मर्मत कार्य सम्पन्न नहुँदासम्म विद्युत आपूर्ति बन्द रहने केन्द्रले जनाएको छ।
विद्युत आपूर्ति बन्द हुँदा सिमकोट र खार्पुनाथ गाउँपालिकाका एक हजार आठ सय सेवाग्राही प्रत्यक्ष रुपमा मर्कामा पर्नेछन्।
पानीको श्रोत कम भएको कारण विद्युत उत्पादन कम भएपछि उक्त आयोजनाले दैनिक १२ घण्टासम्म लोडसेडिङ सुरु गरेको थियो। उत्पादन कम र माग बढी भएपछि बिहानबाटै बेलुका दश बजेसम्म लोडसेडिङ हुने गरेको केन्द्रले जनाएको छ।
हाल आयोजनाले एक सयदेखि १५० किलोवाटसम्म विद्युत उत्पादन गर्दै आएको छ।