
अस्ट्रेलियामा जारी बिग बास लिग-बीबिएल क्रिकेटको आफ्नो गर या मरको खेलमा सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्सले सिड्नी सिक्सर्सलाई एक सय ८९ रनको लक्ष्य दिएको छ।
पहिला ब्याटिङ गरेको हरिकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ८८ रन जोड्यो। हरिकेन्सका कप्तान म्याथ्यु वेडले ८६ र डी आर्की सर्टले ७२ रन जोडे। यी दुई प्रारम्भिक ब्याट्सम्यानले पहिलो विकेटका लागि १४.३ ओभरमा एक सय ४५ रनको साझेदारी गरे। यी दुई जनाबाहेकका ब्याट्सम्यानले टिकेर खेल्न सकेनन्।
हरिकेन्स १२ खेलबाट २३ अंक जोडेर तालिकाको सातौँ स्थानमा छ। शीर्षस्थानमा रहेको पर्थ स्कर्चर्सको १३ खेलबाट ३२ अंक छ। १२ खेलबाट सिड्नी सिक्सर्सको पनि ३२ अंक छ। १३ खेल खेलेका एडिलेड स्ट्राइकरको २८ र सिड्नी थण्डरको २७ अंक छ।
१३ खेलबाट ब्रिसबेन हिटको २५ र मेलबर्न स्टारको २४ अंक रहेको छ। शीर्ष चार टोली प्ले अफमा पुग्नेछन्। हरिकेन्सले यसबाहेक एक खेल खेल्न बाँकी छ।