
दाङ– तुलसीपुर उपमहानगरपालिका–१५ कञ्जवार निवासी काँशीराम गिरीकाे दैनिकी हरेक दिन बिहान साढे तीन बजेदेखि सुरु हुन्छ ।
१० किलोमिटर लामो सडक पार गर्दै तरकारी बिक्री गर्न बजार हिँड्न थालेको १० वर्ष नाघिसकेको छ । काँशीराम तरकारी खेतीबाट थाकेका छैनन् । अझै तरकारी खेतीलाई ठूलो उद्यमको रुपमा अघि बढाउने योजना उनीसँग छ।
तीन कट्ठा जग्गाबाट सुरु भएको व्यवसायिक तरकारी खेती अहिले एक बिगाह जग्गामा फैलिएको छ। ब्रो काउली, फूलगोभी, बन्दागोभीको खेतीमा काँशिराम र उनको परिवार अब्बल छ । काँशीरामको परिवार नै व्यवसायिक खेतीमा संलग्न छ।
‘आमा–बुवा, श्रीमती र म तरकारी खेतीमा मिलेर लागेका छौं’, काँशीरामले भने, ‘सबै मिलेर काम गर्छाैं । सबैको मेहनतले तरकारी खेतीमा सफल भएका छौँ।’
वार्षिक पाँच लाख रुपैयाँ तरकारी खेतिबाट सजिलोसँग आम्दानी हुने गरेको छ । ‘वर्षभरी तरकारी बेचेर पाँच लाख जति कमाइ हुन्छ’, उनले भने,‘उत्पादन बढ्यो र बजार राम्रो पायो भने आम्दानी पनि ठिकै छ ।’
काँशीराम तरकारी खेतिमा मोडिएपछि आम्दानी र पारिवारिक जीवन सहज रुपमा चलेको छ । क्याम्पस पढ्दा विदेशिने सोच जागेको थियो । पछि त्यो सोच त्यागेर लोकसेवाको परीक्षाको तयारी गरे । सुब्बा हुन दुई पटक परीक्षा दिएका काँशीराम सफल हुन सकेनन् ।
‘इन्टर पास भएपछि न पढाइलाई अघि बढाउन सकियो । न लोकसेवामा नाम निकाल्न सकियो’, उनले भने, ‘त्यसपछि घर खर्च जुटाउन काम गर्नै पर्ने भयो, अनि तरकारी खेतीमा लागे ।’
घरमा बुवा–आमाले परम्परागत रुपमा तरकारी खेती गर्दै आएका थिए । त्यही खेतीलाई व्यवसायिक रुप दिएर काँशीरामले आम्दानीको स्रोत बनाए । समय र बजारको मागको आधारमा तरकारी खेती गर्ने गरेका छन् । दसैँ, तिहारलाइ लक्षित गरेर ब्रो काउली, फूलगोभी, बन्दागोभीको खेती गर्छन्। यही रुपमा अघि बढेको तरकारी खेती हिउँद सम्म पुग्छ । त्यसपछि चैत, बैशाख सम्मको लागि फेरि रोपिन्छ ।
‘समयलाई ख्याल गर्नुपर्दाे रहेछ । नत्र बजार पाउन मुस्किल पर्छ । स्रोह श्राद्व, दसैँ, तिहारमा माग बढी हुन्छ । त्यो सिजनमा उत्पादन बढ्ने गरी खेती गर्छाैँ’, उनले भने, ‘त्यसपछि विवाह र पूजाआजा हुने समयमा तरकारीकाे माग धेरै हुन्छ ।’
यस वर्ष तरकारीले राम्रो बजार र मूल्य पायो । ब्रो काउली थोकमा ७० रुपैयाँ किलो सम्म बिक्री भएको छ । फूलगोभीको भाउ पनि सुरुका दिनमा उकालो लागेको थियो । अहिले किलोको २० रुपैयाँमा फूलगोभी बिक्री भैरहेको छ । काँशीरामको बारीमा अहिले काक्रो, फूलगोभीको बेर्ना तयारी अवस्थामा छ ।
तरकारी बिक्रीबाट आम्दानी बढेपछि काँशीरामले ब्रोइलर कुखुरा पालनमा लगानी गरेका छन्। नयाँ खोर थप्ने र कुखुरा पालनको लागि दाना, औषधि उपचारको लगानी तरकारी बिक्रीकाे आम्दानीबाट जुटेको छ । यति मात्रै होइन गाउँमा जग्गा किन्न सफल भएका छन् । ‘जग्गा पनि जोड्न सकियो । नयाँ मोटरसाइकल किन्न सफल भए’उनले भने–‘खेतीपातीमा हामी खुशी छौँ ।’
छोरा–बुहारीसँग खेतबारीको काम गर्न पाउँदा बृद्ध बुवा–आमा खुशी छन् ।
‘खन्ने, खोस्रिने काम गर्छाैं’, खड्ग गिरीले भने,‘लेखापढी गर्न पाइएन । घाँस दाउरा गर्ने, बाख्रा पाल्ने, ग्वाला जाने काम गर्छाैं ।’
कञ्जवार गाउँमा धेरै तरकारी फलाउने किसानमा काँशीरामको नाम पहिलो नम्बरमा आउFछ । उनी तुलसीपुर बजारमा ताजा तरकारी पुर्याउने किसान मध्ये पर्छन्।