
कास्की-नेपाल डेरी एसोसिएशले कृषिमा विदेशी लगानीको विरोध गरेको छ। एसोसिएशनले बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारले कृषिमा विदेशी लगानी गर्ने निति संशोधन गरि फिर्ता नगरेसम्म यसले सशक्त कार्यक्रमहरु अगाडि ल्याउने चेतावनी दिएको हो।
कार्यक्रममा एसोसिएशनका केन्द्रिय अध्यक्ष राधाकृष्ण सापकोटाले विगत पौष २० गतेको राजपत्रमा प्रकाशित सूचना आएको दिनदेखि हरेक दिन एसोसिएसन परिवार यसको विरोधमा लागिपरेको बताए।
उनले भने, ‘ सबै सरोकारवाला व्यवसायी तथा कृषहरुलाई एकै छातामुनि ल्याएर विरोध स्वरुप कृषिमा विदेशी लगानी संघर्ष समिति पनि गठन गरिसकिएको र हाल त्यस समितिले धेरै ठाउँमा धेरै प्रकारका विरोध कार्यक्रम पनि गरिरहेको छ।’
यस्तै एसोसिएसनका महासचिव प्रल्हाद दाहालले विदेशी लगानी गर्ने नीति संशोधन गरि फिर्ता सरकारले नगरेसम्म आफूहरुले सशक्त आन्दोलनका कार्यक्रमहरु अगाडि ल्याउने बताए।
उनले भने, ‘विदेशी लगानी गर्ने नीति संशोधन गरि फिर्ता नगरे दूग्ध एशोसिएशन देशभरी नै विरोधका कार्यक्रमहरु गर्छौ। सरकारले यो नीति चाँडै फिर्ता लियोस्।’
यस्तै एसोसिएशनका सल्लाहाकार सुरेशबहादुर श्रेष्ठले नेपालको कृषिमा विदेशी लगानी भित्राउनु भनेको ‘आफ्नो खुट्टामा आफैं बन्चरो हान्नु’सरह भएको बताए। उनले भने, ‘कृषिमा विदेशी सगानी सम्बन्धी कार्यक्रममा बोल्दै जुन कुरामा स्वयं आफैं आत्मनिर्भर हुन गईरहेको छ त्यसमा विदेशी लगानी ल्याउन हुँदैन।’
त्यसैगरी एसोसिएशनका निवर्तमान अध्यक्ष सुमित केडियाले विदेशी लगानी ल्याउने सरकारको र केही व्यक्ति विशेषको चलखेल रहेको र यसमा केहि सिमित मात्राका मान्छेलाई फाईदा हुने बताए। तर देश लगायत सम्पूर्ण कृषि उद्योग तथा अन्य सबै प्रकारले नोक्सान भई देशको अर्थतन्त्रमा असर पर्ने उनले बताए।