
सिमकोट -हिमाली जिल्ला हुम्लामा यस वर्षको तेस्रो पटक हिमपात भएको छ। शुक्रवार बिहानैबाट बाक्लो कुहिरोका साथै हिमपात सुरु भएको हो । हिमपात हुँदा चिसो अत्याधिक बढेको छ भने दिउसो नै तापक्रम माईनसमा झरेको छ।
बिहानैबाट हिमपात सुरु भएको स्थानीय लोकेन्द्र रावतले बताए। जमिनमा आधा फिट भन्दा बढी हिउँ जमेको छ भने हिउँ पर्ने क्रम जारी रहेको रहेको छ। बिशेष गरी नाम्खा गाउँपालिकाका अग्ला र उच्च स्थानमा दुई फिटसम्म हिउँ परेको छ।
बाक्लो कुहिरो पनि लागेको कारण मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा आउजाउ गर्न कठिन भएको हो। हिमपातसंगै उत्तरी हुम्लामा तापक्रम दिउसै माईनस आठ डिग्रीमा झरेको छ।
चिसो अत्याधिक बढेपछि मानिस बाक्ला र उनीका कपडा लगाएर शरीरलाई न्यानो बनाउने कोशिस गरिरहेका छन्। हिमपातले गाइवस्तु गोठ बाहिर निकाल्न कठिन भएकोले गोठमै घाँस हालेर थुनिएका छन्।
मानिसको बाहिर आउजाउ पनि निक्कै पातलो रहेको छ । कार्यालयमा सेवाग्राही नआएपछि कर्मचारी आगो तथा हिटर तापेर बसिरहेका देखिन्छन्। बजारमा ब्यापारीहरु पसल अगाडि आगो तापेर ग्राहक कुरिरहेका छन्।
सडक सेताम्मे भएको कारण आन्तरिक रुपमा सञ्चालन हुदै आएका यातायात सेवा पनि बन्द रहेको छ। यस वर्षको यो तेस्रो हिमपात हो। यसअघि गता कात्तिक र पुस महिनामा हिमपात भएको थियो।
हिमपातमा पनि पठनपाठन
यता, हिमपात भएपछि पनि विद्यालयहरुले कक्षामा पठनपाठन भने जारी नै राखिएको छ। गत माघ १५ गतेबाट पठन पाठन सुरु गरेका विद्यालयहरुले कोर्ष सक्नका लागि भएपनि चिसोमा पठन पाठन जारी राख्नु परेको बाल मन्दिर माविका प्रधानाध्यापक कैलाश रोकायाले बताए।
उनले भने, ‘विद्यालयमा सबै कक्षाका पठन पाठन शुक्रवारदेखि मात्रै सुरु भएकाले हिमपातमा पनि विद्यालयको पठनपाठन जारी नै राखेका छौ।’ तर ठूला कक्षाका विद्यार्थी पठनपाठनमा समस्या नआए पनि साना कक्षाका विद्यार्थीलाई भने चिसोको कारण समस्या भएको छ।
विमानस्थलमा आधाफिट हिउँ, हवाइसेवा बन्द
हिमपातले सिमकोट विमानस्थल सेताम्मे भएपछि हवाइसेवा भने बन्द भएको छ। हिमपातसँगै बाक्लो कुहिरोका कारण नेपालगञ्ज र सुर्खेतबाट हुने कुनै पनि उडान नभएको नागरिक उड्यायन प्राधिकरण सिमकोट शाखाले जनाएको छ।
यता, विमानस्थलमा आधा फिट हिउ जमेपछि हवाइ सेवा बन्द भएको हो। हवाई सेवा बन्द हुदा यात्रुहरु नेपालगंज, सुर्खेत र सिमकोटमा रोकिनु परेको छ भने खाद्यान्न तथा काग्रोको सामान पनि ढुवानी हुन पाएन।
किसानलाई राहत
यो हिमपातले किसानलाई भने राहत पुगेको छ। गत कात्तिकमा छरेको जेठासी वाली नउम्रेको बेला हिमपात भएपनि उम्रने हुदा किसान खुसी भएका हुन।
किसान राम बोहराले यो हिमपात किसानका लागि अम्रित समान भएको बताए । त्यो संगै स्याउ तथा ओखर बिरुवा लगाउन पनि सहज भएको छ।