प्रधानमन्त्रीज्यू, भगवानलाई छलकपट मन पर्दैन

प्रधानमन्त्रीज्यू, भगवानलाई छलकपट मन पर्दैन
+
-

एउटा कुरामा दुई मत हुन सक्दैन – नेपालको राजनीति लामो समयसम्म गिरिजाप्रसाद कोइरालाको वरिपरि केन्द्रित रह्यो। उहाँको मूड मात्रै होइन, हाच्छयूँले पनि त्यो बेला देशमा तरंग सिर्जना हुन्थ्यो।

उहाँले सक्रिय राजनीतिक जीवनकालभरि (सत्ताकाल भरि ) गरेका कुनै कृत्यले देशलाई कुनै किसिमले किंचित पनि लाभ पुर्‍याए कि पुर्‍याएनन् त्यसको अध्ययन गर्न इलेक्ट्रानिक माइक्रोस्कोप नै आवश्यक पर्छ।  र, नेपालमा यस अत्याधुनिक वैज्ञानिक उपकरणको सर्वथा अभाव भएकाले राजनीतिक विश्लेषक यस विषयक खोज अनुसन्धानमा असमर्थ रहेका छन्।

गिरिजाबाबुबाट यो ताज  हस्तान्तरित हुँदै प्रचण्डज्यूमा आएको पनि छर्लङ्ग नै छ। देशको राजनीति मात्र होइन, समग्र वस्तुस्थिति नै खै कति किलोको हो, उहाँको गर्दन र टाउकोको संयुक्त निम्न चापीय  परिभ्रमणले संचालित भइरह्यो। उहाँको गर्दन घुमाईको मन लोभ्याउने अदाले देशको स्वास्थ्यमा परेको  अनुकूल/प्रतिकूल असरको छानबिन विषयक गणना गर्न क्वांटम कम्प्यूटर नै चाहिने भएकोले यसको निर्क्यौल हुन पनि बाँकी नै छ।  कारण सर्वविदित छ नेपालमा क्वांटम कम्प्यूटर छैन र निकट भविष्यमा आई पुग्ने कुनै संभावना पनि छैन।

पृथ्वी चलायमान छ। पृथ्वी मात्रै नभएर समस्त विश्व – ब्रह्माण्ड नै चलायमान छ। प्रकृतिकाे स्वभाव नै परिवर्तन भैरहनु हो। अतः परिवर्तन ब्रह्माण्डको सूक्ष्म ‘म्याट्रिक्स’ हो भनी बुझ्नलाई बाबुराम जस्तो उच्च प्रतिभाशाली मस्तिष्कको आवश्यकता पर्दैन।  न कुनै सर्टिफिकेट र डिग्रीकै आवश्यकता पर्छ।  प्रचण्डज्यूकाझैँ निम्न चापीय गर्दन घुमाईलाई अर्ध वृत्तीयसम्म पुर्‍याउन साथ दृष्टिगोचर हुन आउँछ,’प्रचण्डज्यूको वरिपरी रहने नेपालको राजनीतिक विवशताले स्थान परिवर्तन गर्दै केपी ओलीज्यूलाई आफ्नो संवाहक बनायो।

शायदै कसैलाई विमति होला, अहिले केपीज्यू नै राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बन्नु भएको छ। गिरिजाको हाच्छयूँ देखि प्रचण्डज्यूको खोकीले परिचालित हुँदै आएको राष्ट्रिय राजनीति अहिले केपीज्यूको उखान – टुक्का -वाक् चातुर्य- रणनीतिक कौशल, इच्छा, चाहना, मनस्थिति, जिजीविषा एवं महत्वाकांक्षाले संचालित हुन बाध्य छ।  उहाँको श्रीमुखबाट खसेका कुनै पनि शब्दले देश नै तरंगित भइरहेको छ। उहाँका शब्द बाणले शत्रुदलमा हाहाकार मच्चाईरहेको पनि सर्वविदित नै छ ।

केपीको साहस -दुस्साहसले देशलाई पुनः चौबाटोमा ल्याएको छ। देशको भावी दिशा कुन बाटो अवलम्बन गरी क- कसको साथ र रोहबरमा केलाई आफ्नो ‘डेस्टिनेशन’ बनाई अघि बढ्ने हो, वर्तमानकाे यक्षप्रश्न यही नै हो। क्षमा गर्नु होला यस यक्ष प्रश्नको समाधान गर्ने जिम्मा देशका चतुर चपल नेताको बुताले नभ्याए (यसको संभावना अतिक्षीण छ ) बाहिरी शक्तिको हस्तक्षेपबाट उत्तरित हुनेछ।

विज्ञानको प्रख्यात ‘एन्ट्रापी’को नियम बुझ्ने जो कोहीलाई पनि थाहा हुन्छ – ऊर्जाले कसरी र कुन दिशामा यात्रा गर्छ!
प्रकृतिले  रिक्तता,रिक्त स्थान हेर्न मन पराउन्न। कहिँ पनि अलिकति रिक्तता हुन् साथ ब्रहमाण्डभरी बाटै त्यस स्थानको शून्यता परिपूर्ति गर्न उर्जाको संचरण प्रारम्भ हुन्छ। यही विज्ञानको ‘एन्ट्रापी’ सिद्धान्त हो ,यस अनुसार (‘In general entropy is neither good nor bad. There are many things that only happen when entropy increase, and a whole lot of them, including some of the chemical reactions needed to sustain life, would be considered as good. That likely means that entropy as such is not nearly always a bad thing.)

जीवनभरी रत्नाकरका भांति दस्यु दलमा नियति एवं प्रारब्धबस आबद्ध रहेका  केपी ओलीज्यूले जीवनको उत्तरार्धमा आएर भगवत कृपाले ‘आखिर श्रीकृष्ण रहेछ एक’ तत्वज्ञान प्राप्त गर्नुलाई किंचित पनि छिद्रान्वेषण नगरी धर्म एवं न्यायका आलोकमा हेरिनु पर्छ।

तपाईँ पानीलाई उसको स्वाभाविक गुणबाट परिवर्तन गरी हिँउ बनाएर छाडी दिनुस् र हेर्नुस्, ‘एन्ट्रापी’ ले केही बेरमै पानीलाई स्वाभाविक प्राकृतिक अवस्थामा ल्याइदिन्छ। यो प्रक्रिया तपाईँ यसको ठ्याक्कै विपरीत ढंगले पनि सम्पादित भएको पाउनु हुन्छ। तातेको पानी पनि केही बेरमै स्वभाविक मुद्रामै फर्किन्छ। नेपालको वर्तमान राजनीतिक अवस्था (उत्पन्न भएको शून्यता अथवा बैशाख १६ पछि उत्पन्न हुन सक्ने संवैधानिक शून्यता )बारे ‘अब के हुन्छ’ भन्ने चासो राजनीतिमा रूचि भएका प्राणीवर्गको मात्र नभएर सर्वसाधारण नेपालीकै मस्तिष्कमा सलबलाईरहेको छ। निश्चय पनि यस्तो राजनीतिक उपद्रोजन्य तरलावस्थामा प्रहारको मुख्य स्थल व्यवस्था र  त्यसका सहायक अवयव नै हुन्छन्।

वर्तमानको व्यवस्था र यसका अवयवले निर्दिष्ट  गरेको राज्य सञ्चालन प्रविधि एवं संयन्त्र प्रारम्भदेखि नै आलोचित एवं अस्वीकृत हुँदै आएको कटु यथार्थलाई विस्मृत गर्न  सकिन्न। राज्य व्यवस्था एवं सञ्चालनले अंगालेका अन्य तमाम विकृति विसंगतिलाई थाँती राखेर एउटा मात्रै विसंगति धर्म निरपेक्षताको चर्चा गरौँ।  के यो सबैभन्दा पछिल्लो आन्दोलनको एजेण्डा थियो ? के देशमा पर्याप्त छलफल -बहस -अन्तर्क्रिया र गोष्ठीका परिणामस्वरुप अंगालिएको थियो यो  ? हरगिज होइन, यो मात्र र मात्र विदेशी प्रभाव र स्थानीय दलालको चलखेलमा पसाइएको थियो।

सबै दलका नेता, तथाकथित नागरिक समाजका अगुवा! (भडुआ ), मुख्यधाराका प्रकाशन गृह सबैले यस बापत सुखद धन आर्जित गरेका थिए। ८०-८५ प्रतिशत बहुल समाजको श्रद्धा -विश्वास र आस्थालाई कुल्चिँदै देशमा धर्म निरपेक्षता भित्र्याइयो। दमित धर्मप्रेमी जमात भित्र भित्र सल्किँदै एउटा स्वर्ण अवसरको प्रतिक्षामा थियो।  राज्य सञ्चालनको असफलता,राज्य सञ्चालनको प्रमुख अवयवको विफलता, धर्मलाई अफीम भनी हेलित गर्ने वर्गको आपसी कलहले त्यो अवसर उपलब्ध गरायो।

जीवनभरी रत्नाकरका भांति दस्यु दलमा नियति एवं प्रारब्धबस आबद्ध रहेका  केपी ओलीज्यूले जीवनको उत्तरार्धमा आएर भगवत कृपाले ‘आखिर श्रीकृष्ण रहेछ एक’ तत्वज्ञान प्राप्त गर्नुलाई किंचित पनि छिद्रान्वेषण नगरी धर्म एवं न्यायका आलोकमा हेरिनु पर्छ।

भनिन्छ -प्रत्येक पापीको भविष्य हुन्छ र प्रत्येक धर्मात्माको अतीत हुन्छ। ओलीजी आफ्नो अतीतलाई पखाल्न अग्रसर हुनु भएको छ, धर्मको विस्तृत विदीर्ण नभाकाशमा हिन्दू धर्म पालन गर्ने एउटा सन्यासीको नाता एवं दायित्वले म उहाँको हार्दिक स्वागत  गर्दै यशस्वी भव, कीर्तिमान भव, आयुष्मान भव, यस देशको मस्तकमा पुनः  हिन्दु धर्म ध्वजा शोभित गर्न सफल होउ भन्ने आशीर्वाद दिन्छु।

यसका साथै हिन्दु धर्मका विभिन्न निकाय,वर्ग,समाज,पन्थ,समुदाय,चिन्तन, दर्शन, मत मताअबलम्बीहरुसँग  हिन्दु धर्मलाई देशमा पुनः अनुप्राणित बनाउन सबै किसिमका मनो – मालिन्यता परित्याग गरी एकजुट भई यस महायज्ञमा सक्रिय योगदान गर्न निवेदन गर्छु।

म तपाईँहरुलाई आश्वासन दिन्छु -हिन्दु धर्मका रिपु एवं अपराधीहरुको कुनै पनि प्रयासले अब केही आकार लिन सक्दैनँ।  निराकार परमेश्वर श्री पशुपतिनाथ स्वयं यस पुनीत कार्यको दिग्दर्शन हेतु धराको यस भूभागमा सक्रिय भइसक्नु भएको छ। प्रमाणस्वरूप, कुनै पनि कम्युनिस्ट प्रधानमन्त्रीले पहिलोपटक उहाँका चरणमा गई शरण लिनुलाई नै! यथेष्ट प्रमाण मान्न सकिन्छ। सबै दैवीय शक्तिले ओलीजीलाई निमित्त नायकका रूपमा चयनित गरी सकेका छन्।

धर्म उहाँलाई नै योद्धा बनाएर रिपु दलको मान मर्दन हेतु महाकाल स्वरुप धारण गरी अग्रसर भएको छ। हिन्दु समाजका सबै वर्गले  यस धर्मयोद्धालाई आफ्नो सहयोगको ढालरूपी सुरक्षा प्रदान गर्नु अपरिहार्य हुन आएको छ।

राज्य सञ्चालनलाई निर्दिष्ट गर्ने अवयवसँग असन्तुष्टि एवं विमति राखेका वर्गका निम्ति पनि यो स्वर्ण अवसर नै हो।  त्यसको निमित्त नायक बन्ने क्षमता एवं पात्रता पनि ओलीजीसँग नै छ।  तपाईँ विगतदेखि ओलीजीको धुर आलोचक एवं विरोधी भए पनि नीति वचन ‘शत्रु को शत्रु आफ्नो मित्र हुने’ लाई हृदयंगम गरी उनलाई सहायता गर्न प्रस्तुत हुनुस्।

‘अब के हुन्छ’ भन्ने आशंकित मनोदशाले होइन, ‘अब यो यो हुनु पर्छ’ भन्ने स्पष्ट आत्मबल र मनोबलका साथ देशमा हुन गइरहेको
महायज्ञमा  पूर्णाहुति दिन अग्रसर हुने बेला आएको छ। यस्तो बेला दौर्बल्य धारण गरी मूक दर्शक हुनु अक्षम्य अपराध हुनेछ। जसले ‘धर्मको रक्षा गर्छ, धर्मले उसको रक्षा गर्छ’ भन्ने शास्त्रीय आप्त वचनमा निश्छल एवं पवित्र श्रद्धा गरी पूर्ण मनोयोगका साथ धर्मका पक्षमा आउनुस्। ”classical thermodynamics, entropy in  thermodynamics ” धार्मिक शून्यतालाई परिपूर्ति गर्न परिचालित /संचालित भैसकेको छ।

स्मरण गर्नुस्, भगवान् श्रीराम असुर भ्राता विभीषणसँग के भन्नु हुन्छ –

कोटि बिप्र बध लागहिं जाहू, आएँ सरन तजउँ नहिं ताहू।
सनमुख होइ जीव मोहि जबहीं, जन्म कोटि अघ नासहिं तबहीं।
निर्मल मन जन सो मोही पावा,मोहि कपट छल छिद्र न भावा।

मन निर्मल हुनासाथ भगवानले जन्म जन्मका पाप क्षमा गरी दिनु हुन्छ। तर भगवानलाई छल कपट भने पटक्कै मन पर्दैन।  शरणागत हुन आएको विभीषणलाई अभयदान दिदै प्रभु श्रीराम भन्नु हुन्छ –

सुनहु सखा निज कहउँ सुभाऊ, जान भुसुंडि संभु गिरिजाऊ।
जौं नर होइ चराचर द्रोही, आवै सभय सरन तकि मोही।
तजि मद मोह कपट छल नाना, करउँ सद्य तेहि साधु समाना।
अस सज्जन मम उर बस कैसें, लोभी हृदयँ बसइ धनु जैसें।
सगुन उपासक परहित निरत नीति दृढ़ नेम,
ते नर प्रान समान मम जिन्ह कें द्विज पद प्रेम।विभीषण कै भाँती

केपी ओली प्रभूका शरणमा आउनु भएको छ,उहाँका सबै अपराध क्षमा भई प्रभू अनुकम्पाले उहाँ धर्मदूत बनी धर्म पुनर्स्थापना हेतु अग्रसर हुनु भएको छ। हामी सबै प्रभू श्रीरामका कपि दल हौँ। मन मनै यही स्मरण गर्दै धर्मकार्य हेतु प्रस्तुत बनौँ

-अस प्रभू छाड़ि भजहिं जे आना, ते नर पसु बिनु पूँछ बिषाना।
निज जन जानि ताहि अपनावा, प्रभु सुभाव कपि कुल मन भावा।राजनीतिलाई साहित्यिक आवरण र साहित्यलाई ऐतिहासिक दृष्टिले सिंहावलोकन गर्दै, इतिहासलाई वैज्ञानिक दृष्टिकोणले परिभाषित गर्नु पर्ने युगीन धार्मिक आवश्यकतालाई आत्मसाथ गरी आफ्नो पथ र पाथेय निर्धारित गर्नुस्। अस्तु!

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?