
सिमकोट– जिल्ला निर्वाचन कार्यालय हुम्लाले गाउँगाउँका विद्यालयहरुमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ।
सरकारले संसद विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि त्यसको तयारीका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकारी महेशकुमार थापाले बताए।
चुनावमा मत बदर नहोस् भन्नका लागि उक्त कार्यक्रम गरिएको उनको भनाइ छ। थापाका अनुसार कक्षा आठ, नौ र दशमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गरिएको हो।
विद्यार्थीमार्फत अभिभावकहरुलाई मतदान गर्ने सही तरीका सिकाउनका लागि मतदाता शिक्षा कार्यक्रम गरिएको हो।
कार्यक्रममा दुई सयभन्दा बढी विद्यार्थी सहभागी भएको उनले बताए। निर्वाचन कार्यालयको कार्यक्रम अनुसार हुम्ला जिल्लाभरिका ६ वटा विद्यालयमा कार्यक्रम सञ्चालन भएको हो।
सिमकोट गाउँपालिकाको मानसरोवर मावि, बाल मन्दिर मावि, कैलाश मावि, रलिङ मावि, रामदेब मावि र नाम्खा गाउँपालिकाको महाबौद्ध मावि याल्वाङमा यो कार्यक्रम सञ्चालन भएको हो।