
काठमाडौँ – नेकपा (प्रचण्ड–नेपाल खेमा) की नेतृ रामकुमारी झाँक्रीविरुद्ध जारी भएको छ ।
राज्यविरुद्धको अपराध गरेको भन्दै प्रहरीले झाँक्रीका नाममा पक्राउ पूर्जी जारी गरेको हो । सादा पोशाकमा पक्राउ पूर्जी बिना प्रहरी झाँक्रीको घर पुगेपछि नाराबाजी भएको थियो ।
अहिले पनि नाराबाजी जारी छ । तर अहिले प्रहरी गम्भीर अपराधको पक्राउ पूर्जी लिएर त्यहाँ पुगेको हो ।
महानगरीय अपराध महाशाखाले नेतृ झाँक्रीलाई छलफलका लागि बिहीबार बिहान आउन भनेको थियो । नआएपछि आफूहरु पुगेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए ।
केही दिन पहिले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गरेको टिप्पणीलाई लिएर उनलाई पक्राउ गर्न खोजिएको हो ।
संविधानले के भन्छ ?
संविधानको धारा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख गरिएको छ। धारा ५८ को उपदफा १ का अनुसार कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन ।
उपदफा २ का अनुसार उपदफा १ बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “संसद” भन्नाले नेपालको संविधान बमोजिमको सङ्घीय संसद र प्रदेश सभा सम्झनु पर्छ र सो शब्दले व्यवस्थापिका–संसदलाई समेत जनाउँछ ।