
काठमाडौँ – संविधान लोकतन्त्र र जनताको शासनको रक्षाका लागि आन्दोलिन हुने क्रममा व्यवक्त गरेका विचारहरुका आधारमा केपी ओली नेतृत्वको सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउँदै आफूलाई पक्राउ गरेको नेकपा नेतृ रामकुमार झाँक्रीले बताएकी छन् ।
राज्य विरुद्धको कुसरमा पक्राउ पूर्जी जारी भएपछि निवासबाटै गिरफ्तारी दिने क्रममा नेतृ झाँक्रीले सम्बोधन गर्दै भनिन्, ‘हामीले कहिले नखोसिने लोकतन्त्रका लागि लडेका थियौँ । धेरै कुरा पायौँ भन्ने लागेको थियो । तर आफू नै आवद्ध पार्टीका नेताको तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध गर्दा यो उपहार पाएँ ।’
उनले भनेकी छन्, ‘तीन वर्ष पहिले कम्युनिष्ट पार्टीले बहुमत ल्याएको थियो । जुन सरकार बनाउने संसदीय दलको म सदस्य थिएँ, आज त्यही दलबाट निर्वाचित प्रधानमन्त्रीको असंवैधानिक आक्रमणबाट भएको प्रतिगमनको विरोध गर्दा व्यक्त विचारका आधारमा ममाथि राज्य विरुद्धको कसुर लगाइयो ।’
संविधान र लोकतन्त्रको पुनर्वहालीका लागि लड्ने क्रममा व्यक्त विचारलाई लिएर अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने काम भएको उनले बताइन् ।
उनले भनिन्, ‘सचेत नागरिक र कानूनको पालनकर्ताका नाताले म जारी पक्राउ पूर्जी अनुसार आफ्नो गिरफ्तारी दिन्छु । साथ र सहयोगका लागि सबैलाई धन्यबाद ।’
झाँक्रीको बिहीबार वैवाहिक वर्षगाँठ पनि हो । सोही दिन उनलाई गिरफ्तार गरिएको हो । उनी नेकपाको प्रचण्ड–नेपाल खेमामा छिन् ।