काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ तथा विघटित प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरको छ।
राज्यविरुद्ध अपराध गरेको कसुरमा प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो। बिहीबार बिहान सादा पोशाकका प्रहरी झाँक्रीलाई पक्राउ गर्न उनको घरमा पुगेका थिए। तर झाँक्रीले प्रहरीलाई पक्राउ पूर्जी लिएर आउन भनेपछि राज्यविरुद्धको अपराध गरेको भन्दै प्रहरीले झाँक्रीका नाममा पक्राउ पूर्जी जारी गरेको थियो।
महानगरीय अपराध महाशाखाले नेतृ झाँक्रीलाई छलफलका लागि बिहीबार बिहान आउन भनेको थियो। तर झाँक्री नगएपछि प्रहरीले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
तर स्रोतका अनुसार प्रहरीले बुधबार साँझदेखि नै झाँक्रीको निवास वरपर निगरानी बढाएको थियो।
पक्राउ परिसकेपछि झाँक्रीले आफ्ना समर्थकहरुलाई धैर्य गर्न आग्रह गरेकी छन्।
उनले ट्वीटरमा लेखेकी छन्, ‘राज्यविरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभवनमा छु। सबै साथीहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाईँ हो।आफ्नो ठाउँमा डटौँ।’
नेकपा दाहाल–नेपाल समूहले झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ। उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै झाँक्रीलाई रिहा गर्न माग गरेका छन्।
झाँक्रीलाई भेट्न नेता श्रेष्ठ र योगेश भट्टराई महानगरीय अपराध महाशाखा पुगेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































