
कोरोना संक्रमणले विश्वलाई आतंकित मात्रै होइन शिथिल र घायल पनि बनाइसकेको छ र विश्व अझै पनि यसबाट तंग्रिन सकेको छैन । कोरोना बिरुद्ध हालसम्म विश्वमा थुप्रै अध्ययन र अनुसन्धान भइरहेको छ र त्यसै अनुरुप यस बिरुद्धको लडाईमा मानब जातिले छोटो समयमै निकै ठूलो सफलता हात पनि पारिसकेको छ। तथापि यस लडाई जित्न अझै धेरै समय लाग्ने देखिन्छ । सिङ्गै विश्व नै कोरोनाले थिलोथिलो भएको बेला यसले विश्वको भौगोलिक क्षेत्र अनुसार पारेको असर भने फरक फरक देखिन्छ । यूरोप र अमेरिका यसको सबैभन्दा ठूलो सिकार भएको देखिन्छ भने पछिल्लो समयमा ल्याटिन र दक्षिण अमेरिका सबैभन्दा बढी प्रभित देखिन्छ । एसिया र दक्षिण एसिया केही कम प्रभावित र त्यस्तै अफ्रिका र अस्ट्रेलिया सबैभन्दा कम प्रभावित देखिन्छ। तर त्यति भन्दाभन्दै वास्तविक प्रभाव कहाँ कति परेको छ प्रष्ट छैन सहि तथ्यांकको अभावका कारण। झ्वाट्ट हेर्दा माथि उल्लेख गरिए जस्तै अति बिकसित र बिकसित राष्ट्रहरु निकै प्रभावित र कम बिकसित राष्ट्रहरु कम प्रभावित देखिन्छन् । यसको कारण यो पनि एक हो कि बिकसित राष्ट्रहरुले धेरै भन्दा धेरै कोरोना संक्रमण पत्ता लगाउने कोशिस गरेका छन् बढी परिक्षण गरेर भने कम बिकसित देशहरुले परिक्षण कम गरेका छन् र कोरोना नभएको जस्तो देखिएको छ। त्यस्तै बिकसित देशहरुको तथ्यांक पनि कम बिकसित राष्ट्रहरुको दाँजोमा तुलनात्मक रुपले बढी पारदर्शी छ जसले गर्दा पनि उनीहरु नै बढी मारमा पारेको देखिन्छ । अर्कोतिर दक्षिण एसिया र अफ्रिकाका देशका मानिसमा बंषाणुगत कुराले गर्दा पनि कोरोना संक्रमण कम देखिएको भन्ने कुराहरु पनि समाचारमा आइरहेका छन्।
जे होस् अहिलेको लागि यी सबै कुराहरु एक अनुमान मात्र हुन् र तथ्यांकले जे देखाउंछ त्यही हाम्रो लागि सत्य हो। अस्ट्रेलिया महादेशमा यसको प्रभाव ठूलै भएता पनि उनीहरुले यसको नियन्त्रण र रोकथाम सबैभन्दा उत्तम तरिकाले गरेको देखिन्छ र फलस्वरूप त्यहाँ यसको प्रभाव पनि कमै देखिन्छ । एसियाका चीन, कोरिया , भिएतनाम, सिंगापुर, हंगकंग, भुटान आदि राष्ट्रहरुले पनि कोरोना प्यानडेमिकको नियन्त्रण सफलतापूर्बक गरेको देखिन्छ ।
गत हप्ताको मध्यसम्ममा विश्वमा करीब १०७३७१००० जनामा यो संक्रमण देखिसकेको छ भने त्यस मध्ये २३४८०००को यसै संक्रमणका कारण मृत्यू भइसकेको छ जुन करीब २.१८% हुन आउँछ । यसरी विश्वभरि भएका कोरोना संक्रमण मध्ये कुन महादेशमा कुल संक्रमणको कति भार या अनुपात छ भनी चित्र न. १ मा देखाइएको छ । चित्रमा देखाइए जस्तै उत्तर अमेरिकामा सबैभन्दा धेरै संक्रमित देखिएका छन् जुन पछिल्लो समयमा करीब ३१८००००० छ जसले जम्मा संक्रमितको करीब ३०% ओगटेको छ। त्यस्तै अस्ट्रेलिया महादेशमा हालसम्म सबैभन्दा कम संक्रमण देखिएको छ, करीब ५०००० मात्र जसले विश्वको जम्मा संक्रमणको करीब ०.०५% मात्र ओगटेको छ । यसरी सबैभन्दा धेरै संक्रमण देखिएका महादेशहरु पहिलोदेखि अन्त्यसम्म क्रमसः उत्तर अमेरिका ३१८०००००, यूरोप ३१५५१००० , दक्षिण अमेरिका १६५५०००० , एसिया २३७०८०००, अफ्रिका ३७१२००० र अस्ट्रेलिया ५०००० पर्दछन् ।
त्यस्तै विश्वमा कोरोना संक्रमणका जम्मा मृत्यू भएका मध्ये कुन महादेशमा कति मृत्यू भयो चित्र न. २ मा देखाइएको छ। चित्रमा देखिए जस्तै मृत्यू सबैभन्दा धेरै भएको महादेशमा यूरोप पर्दछ जहाँ हालसम्म ७४६०००भन्दा बढीको मृत्यू भइसकेको छ जुन करीब ३२% हो अर्थात् विश्वको कोरोनाका कारण जम्मा भएको मृत्यूको करीब एक तिहाई यूरोपमा देखिएको छ । त्यस अर्थमा विश्वको सबैभन्दा धेरै संक्रमित उत्तर अमेरिका देखिए तापनि त्यसको कारणले सबैभन्दा धेरै मृत्यू भने यूरोपमा देखिएको छ । त्यस्तै सबैभन्दा कम मृत्यू अस्ट्रेलिया महादेशमा देखिएको छ जुन करीब ०.०४% छ । यसरी कोरोनाका कारण सबैभन्दा धेरै मृत्यू हुनेमा क्रमसः यूरोपमा ७४६०००, उत्तर अमेरिकामा ६९२०००, दक्षिण अमेरिकामा ४३२०००, एसियामा ३८१०००, अफ्रिकामा १६००० र अस्ट्रेलियामा १००० जति छन् ।
त्यसै गरी जनसंख्याको आधारमा संक्रमितको अनुपात चित्र न. ३मा देखाइएको छ । कुनै महादेशमा जनसंख्या धेरै भए पनि संक्रमितको अनुपात कम छ भने कुनै महादेशमा जनसंख्या थोरै भए पनि संक्रमितको अनुपात धेरै छ । चित्र न. ३ मा देखाइए जस्तै उत्तर अमेरिकाको पछिल्लो जनसंख्या करीब ३७०२७३००० जति छ जस मध्ये करीब ८.५९%लाई संक्रमण भइसकेको छ भने एसियामा हाल करीब ४६४१०००००० जनसंख्या छ जस मध्ये करीब ०.५१% लाई मात्र कोरोना संक्रमण भएको छ । अस्ट्रेलियाको संक्रमण अनुपात झन् कम छ जुन करीब ४२६७७००० जनसंख्या मध्ये ०.१२% मात्र छ । यसरी संक्रमण अनुपात सबैभन्दा धेरै भएका महादेशहरु क्रमसः उत्तर अमेरिका ८.५९%, यूरोप ४.२२%, दक्षिण अमेरिका २.५३%, एसिया ०.५१%, अफ्रिका ओ.२८% र अस्ट्रेलियामा करीब ०.१२% छ । याद रहोस् जनसंख्याको हिसाबले सबैभन्दा ठूलो महादेश एसिया हो जसले विश्वको करीब ६०% जनसंख्या पालेको छ भने त्यसपछि अफ्रीका १७%, यूरोप ९.५%, ल्याटिन तथा दक्षिण अमेरिका ८.५%, उत्तर अमेरिका ४.५% र अस्ट्रेलिया ०.५% रहेका छन् ।
यसरी प्यान्डेमिकका विभिन्न पक्षबाट कोरोना संक्रमणले कुन महादेशलाई कत्तिको प्रभाव पर्यो भनेर हेर्ने क्रममा मृत्यू दर अर्थात् संक्रमित मध्ये कति जनाको मृत्यू भयो भन्ने पनि एक हो जुन चित्र .४ मा देखाइएको छ । मृत्यू दर सबैभन्दा धेरै भएको महादेश दक्षिण अमेरिका हो जहाँ प्रत्येक सय जना संक्रमित मध्ये २.६१ जना अर्थात् प्रत्येक १०००० मा २६१ जनाको कोरोन संक्रमणका कारण मृत्यू हुने गरेको छ अर्थात् त्यहाँ को मृत्यू दर २.६१% छ। त्यस्तै दोस्रो स्थानमा अफ्रीका रहेको छ जहाको मृत्यू दर २.५९ % छ। सबैभन्दा कम मृत्यू दर एसियामा देखिएको छ जहाँको मृत्यू दर १.६१% छ अर्थात् प्रत्येक १०००० मा १६१ जनाको मृत्यू हुने गरेको छ एसियामा । त्यस्तै यूरोप, उत्तर अमेरिका र अस्ट्रेलिया मृत्यू दर धेरै भएको आधारमा चित्रमा देखाइए जस्तै क्रमसः तेस्रो , चौथो र पाँचौं स्थानमा परेका छन् ।
यसरी विश्वमा कोरोना संक्रमणको अनुपात, कोरोनाका कारण मृत्यूको अनुपात, कुल जनसंख्यामा कोरोना संक्रमण द्वारा प्रभावितको अनुपात र कोरोनाका कारण मृत्यू दरको आधारमा भन्ने हो भने उत्तर अमेरिका र यूरोप सबैभन्दा धेरै प्रभावित देखिन्छ त्यसपछि क्रमसः दक्षिण अमेरिका, एसिया, अफ्रिका र अस्ट्रेलिया पर्दछन्। तर मृत्यू दरको हिसाबले दक्षिण अमेरिका र अफ्रीका सबैभन्दा बढी प्रभावित देखिन्छ । अफ्रीकामा जम्मा संक्रमित कम भए तापनि संक्रमित मध्ये मृत्यू हुनेको अनुपात धेरै छ । त्यसको कारण अफ्रिकाको स्वास्थ्य सेवाको अवस्था नाजुक हुनु नै हुन सक्दछ जसले गर्दा सामान्य संक्रमण भएकाहरु पनि आवश्यक उपचार नपाउँदा मर्न बाध्य भए । मृत्यू दर सबैभन्दा कम एसियामा देखिन्छ । त्यसको कारण एसियामा कोरोना संक्रमणको प्रभाव कम हुनु र एसियाका देशहरु बिकसित र स्वास्थ्य सेवा तुलनात्मक रुपले राम्रो हुनु पनि एक हो।
यसै सन्दर्भमा दक्षिण एसियाको कुरा गर्दा यस क्षेत्रमा हाल कोरोना संक्रमण र यसको कारणले भइरहेको प्यान्डेमिक केही नियन्त्रणमा आएको देखिन्छ । पछिल्लो समयसम्ममा दक्षिण एसियामा जम्मा १२३८५३८५ जनामा संक्रमण भएको देखिन्छ भने त्यसैको कारणले जम्मा १८०४५४ जनाको मृत्यू भएको देखिन्छ। यसरी संक्रमण हुने र मृत्यू हुनेमा दक्षिण एसियामा सबैभन्दा धेरै भारतमा देखिएको छ भने सबैभन्दा कम संक्रमण र मृत्यू हुनेमा भुटान देखिएको छ । चित्र न. ५ मा दक्षिण एसियाका सबै देशहरुका हालसम्म भएको कोरोनाका कारण संक्रमित र मृत्यू देखाइएको छ। यसरी कोरोना संक्रमण र त्यसैका कारण भएको मृत्यू भारतमा सबैभन्दा धेरै र भुटानमा सबैभन्दा थोरै हुनुको मुख्य कारण मध्ये एक ती देशका जनसंख्या पनि हो । त्यस्तै हालसम्मको सबैभन्दा धेरै संक्रमितको आधारमा दोस्रो देखि सातौंसम्मका देशहरुमा क्रमसः पाकिस्तान , बंगलादेश , नेपाल , श्रीलंका अफ्घानिस्तान र माल्दिभ्स पर्दछन् । त्यस्तै सबैभन्दा धेरै मृत्यूको आधारमा दोस्रो देखि सातौं सम्म क्रमसः पाकिस्तान, बंगलादेश, अफ्घानिस्तान , नेपाल, श्रीलंका र माल्दिभ्स पर्दछन् । अफ्घानिस्तानमा जम्मा संक्रमितको संख्या नेपालमाभन्दा करीब पांच भागमा एक मात्रै भएता पनि मृत्यू भने नेपालकोभन्दा करीब ४०० बढी छ ।
यसरी दक्षिण एसियामा संक्रमित मध्ये कति जनाको मृत्यू भयो अर्थात् दक्षिण एसियाको हालसम्मको समग्र मृत्यू दर (Cumulative death rate) चित्र न. ६ मा देखाइएको छ । हालसम्मको दक्षिण एसियाको औसत मृत्यू दर १.४% देखिएको छ अर्थात् एक हजार संक्रमितमा १४ जनाको मृत्यू हुने गरेको छ भने सबैभन्दा धेरै मृत्यू दर अफ्घानिस्तान मा ४.३६% र सबैभन्दा कम मृत्यू दर भुटानमा ०.११% देखिएको छ । दक्षिण एसियाका विभिन्न देशहरुमा हालसम्मको मृत्यूको संख्या जति सुकै भए पनि मृत्यू दरले कोरोना संक्रमणका कारण कुन देशमा कति मृत्यू भयो भनी स्पष्ट देखाउदछ। त्यस अर्थमा अफ्घानिस्तानमा संख्याको हिसाबले मृत्यू कम देखिएता पनि मृत्यू दर दक्षिण एसियामा सबैभन्दा धेरै देखिएको छ भने संख्या धेरै भए पनि भारतमा मृत्यू दर तुलनात्मक रुपले कम देखिएको छ। यसरी सबैभन्दा धेरै मृत्यू दरको आधारमा दक्षिण एसियामा दोस्रोदेखि सातौंसम्मका देशहरु क्रमसः पाकिस्तान, बंगलादेश, भारत, नेपाल , श्रीलंका र माल्दिभ्स पर्दछन्।
याद रहोस् भुटानमा पछिल्लो समयमा कोरोना संक्रमण अति न्यून देखिएको छ, त्यहाँ गत दुई हप्तामा जम्मा २ जना मात्रै नया संक्रमित देखिएका छन् भने हालसम्म जम्मा १ जनाको मात्रै कोरोना संक्रमणका कारण मृत्यू भएको छ जुन २०२१ जनुवरी ७ का दिन भएको थियो । त्यस्तै अफ्घानिस्तान विश्वमै प्यान्डेमिक नियन्त्रणमा कम्जोर देखिएको छ भने त्यहा प्रत्येक दिन संक्रमित मध्ये करीब १०% को मृत्यू हुने गरेको छ ।
चित्र न. ७ मा दक्षिण एसियाका देशहरुमा जम्मा कोरोना संक्रमणको अनुपात देखाइएको छ जस अनुसार भारतमा मात्रै दक्षिण एसियाको कुल कोरोना संक्रमण मध्ये करिब ८८% रहेको छ भने भुटानमा ०.०१% मात्रै । त्यस्तै सबैभन्दा धेरै अनुपातको आधारमा दोस्रो देखि सातौंसम्मका देशहरुमा क्रमसः पाकिस्तान , बंगलादेश, नेपाल, श्रीलंका, अफ्घानिस्तान र माल्दिभ्स पर्दछन् ।
यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता, फेब्रुअरी ७ देखि १३ (माघ २५ देखि फाल्गुन १) जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन् जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन होप्किन्स विश्व विद्यालय (John Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data) आदि। यस लेखको उद्धेश्य कोरोना सम्बन्धी तथ्यांकलाई सहिरुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सहि चित्रलाई पाठकवर्ग समक्ष पुर्याउनु हो ।
गतहप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि उताभचढ़ाभ हुने क्रम जारी रह्यो । निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौं।
दैनिक नयाँ संक्रमण
यो हरेक दिन नेपालमा देखिएका या देखिने नया संक्रमितहरुको संख्या हो। गतहप्ता फेब्रुअरी ७ देखि १३ (माघ २५ देखि फाल्गुन १) जम्मा ७ दिनको नेपालभरि र काठमाडौँ उपत्यकाको नया संक्रमितको संख्या चित्र न. ८ मा प्रस्तुत गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ता सात दिनमा देशभरि जम्मा ८०८ जना र काठमाडौँ उपत्यकामा ३८० जना नया संक्रमित भेटिए भने त्योभन्दा अगाडिको हप्ता सात दिनमा देशभरि जम्मा ९५२ र काठमाडौँ उपत्यकामा ४७२ नया संक्रमित भेटिएका थिए। माथिको तथ्यांकको आधारमा भन्ने हो भने गतहप्ता त्योभन्दा अगाडिको हप्ताको दाँजोमा देशभरि संक्रमितको संख्या निकै घटेको पाइयो। बिगत केही महिनादेखि नेपालभरि र काठमाडौँ उपत्यकामा जम्मा कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी छ।
त्यस्तै मृत्यु हुनेको संख्या गतहप्ता जम्मा १८ रह्यो भने त्योभन्दा अगाडिको हप्ता ८ थियो जुन पहिलाको दाँजोमा दुई गुणाभन्दा धेरै हो। यसरी जम्मा संक्रमित क्रमैसंग घटिरहेको बेला मृत्यू दुई गुणाभन्दा धेरैले बढ्नु भने आश्चर्यको विषय भएको छ । यद्यपि गतसाताको जम्मा मृत्यू १८ अर्थात् दुई हप्ता भन्दा अघिको साताभन्दा धेरै भए पनि पहिला जत्तिको धेरै चाही होइन ।
स्मरण रहोस् नेपालको दैनिक संक्रमण कार्तिक ५ गते सबैभन्दा धेरै एकै दिन ५७४३ नया संक्रमित भेटिएका थिए भने त्यही दिन सबैभन्दा धेरै दैनिक परिक्षण एकै दिन २०११८ परिक्षण गरिएका थिए । त्यस्तै नेपालको प्यान्डेमिक इतिहासमा सुरुको अवस्थामा बाहेक सबैभन्दा कम परिक्षण गएको शनिबार अर्थात् फाल्गुन १ गते १९०० मात्रै परिक्षण गरिएका थिए भने त्यसै दिन हालसम्मकै सबैभन्दा कम, सुरुको अवस्थामा बाहेक, जम्मा ५७ मात्रै नया संक्रमित देखिएका थिए। आश्विनको अन्तिम सातादेखि कार्तिकको अन्त्यसम्म नेपालमा कोरोना संक्रमण अत्यधिक बढेको थियो जुन दैनिक औसतमा करीब २५०० जति थियो। त्यस्तै मृत्यू सबैभन्दा धेरै कार्तिक १९ गते एकै दिन ३० पुगेको थियो । कार्तिकको दोस्रो हप्ता देखि मंशिरको मध्यसम्म दैनिक औसतमा करीब २५ जनाको मृत्यू हुने गरेको थियो । हाल आएर दैनिक मृत्यू कुनै कुनै दिन सुन्ना भएको बिगत केही समयदेखि देखिंदै आए पनि यो निरन्तर सुन्ना हुन सकेको छैन ।
त्यस्तै काठमाडौँ र नेपालको अनुपात केलाउने हो भने चित्र न. ९मा देखाइए जस्तै नेपालभरिको दाँजोमा काठमाडौँ उपत्यकाको नया संक्रमण अनुपात गतहप्ता न्यूनतम ४०.७४% देखि अधिकतम ५४.३९% सम्म रह्यो भने त्योभन्दा अगाडिको हप्ता यो अनुपात ३८.०१% देखि ६६ .६७% सम्म रहेको थियो। गतहप्ता नेपालभरिको संक्रमितको दाँजोमा काठमाडौँ उपत्यकाको संक्रमितको अनुपात औसतमा करीब ४७.१९ % रह्यो भने त्योभन्दा अगाडिको हप्ता यो औसत अनुपात करीब ५१.३८% थियो। यसरी देशभरिको दाँजोमा काठमाडौँको नया संक्रमितको अनुपात बिगत केही समय देखि केही तलमाथि भए पनि यो अनुपात लगभग स्थिर देखिन्छ । गतहप्ता सिंगो देशमा जम्मा भेटिएका संक्रमित मध्ये आधाभन्दा केही कम काठमाडौँ उपत्यकामा भेटिएका छन्। नेपाल सरकारले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यका पछि कोभिड संक्रमण ज्यादा देखिएका जिल्लाहरुमा चितवन, कास्की, कैलाली, दांग, रुपन्देही आदि पर्दछन्।
दैनिक संक्रमण पोजिटिभिटी दर (Positivity Rate)
प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी दर एक सबैभन्दा भर पर्दो मापदण्ड हो जसले परिक्षण गरिएका मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउंदछ । पोजिटिभिटी दरको बारेमा गएका अंकहरुमा बिस्तृत जानकारी गराइसकेको छ। त्यसको लागि कृपया यस शृंखलाका गएका अंकहरु पनि हेर्नु होला।
नेपालको गएको हप्ताको दैनिक संक्रमण पोजिटिभिटी दर चित्र न. १० मा देखाइएको छ। गतहप्ता पनि नेपालको प्यान्डेमिक निरन्तररुपमा केही तल झर्दै गएको देखिन्छ। गतहप्ता पोजिटिभिटी दर न्यूनतम ३.०% देखि अधिकतम ५.२९% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ३.६४ % रह्यो। दुई हप्ता अगाडिको पोजिटिभिटी दर ३.१७% र ५.८% का बीच रही त्यो साताको औसत पोजिटिभिटी दर ४.०७% रहेको थियो।
नेपालमा प्यान्डेमिकको इतिहासमा गतहप्ता झन्डै ७ महिनापछि साताभरिको दैनिक पोजिटिभिटी ५% या त्योभन्दा मुनि रही औसत करीब ३.६४% रह्यो । यसरी दैनिक पोजिटिभिटी अर्थात् संक्रमण दर दुई हप्ताभन्दा लामो समय ५%भन्दा कम रहेमा WHO को मापदण्ड अनुसार कोरोना संक्रमण तथा प्यान्डेमिक नियन्त्रण भएको भन्न सकिन्छ। आशा गरौँ त्यो दिन चाडै आउनेछ।
गतहप्ता देशभरि जम्मा २२३८३ परिक्षण गरियो भने त्योभन्दा अगाडिको हप्ता जम्मा २३४६७ परिक्षण गरिएका थिए। हाल नेपालमा दैनिक औसतमा करीब ३२०० मात्र परिक्षण गरिंदै आएको।
जोन्स हप्किन्स विश्व विद्यालयका अनुसार पछिल्लो समयमा संक्रमण दर (पोजिटिभिटी) सबैभन्दा अधिक भएका दस देशहरु निम्नानुसार देखिन्छन्, मेक्सिको ७७.४३ %, अल्बानिया ३२.८४ %, इक्वाडोर ३२.३७ %, मोजाम्बिक ३१.३८%, कंगो २८.९७%, अर्जेन्टिना २५.६०%, बोलिविया २४.९३%, परागुए २२.२६%, इन्डोनेसिया २२.१४% र दक्षिण सुडान १८.८६%। त्यस्तै दक्षिण एसियाली र अन्य देशहरुको संक्रमण दर निम्नानुसार देखिन्छ, अमेरिका ६.८६%, जापान ३.३७%, बेलायत २.६५%, नेपाल ३.९६%, श्रीलंका ५.४३%, पाकिस्तान ३.५५%, अफ्घानिस्तान २.०१%, बंगलादेश २.५६%, माल्दिभ्स ३.८४%, भरात १.६२% र भुटान ०.०२% । भुटानमा हल दैनिक करीब ६४०० परिक्षण गर्ने गरिएको छ भने त्यस मध्ये गत दुई हप्तामा दुई जना मात्र नया संक्रमित भेटियो। त्यस्तै अफ्घानिस्तानमा दैनिक करिब १४०० मात्रै परिक्षण गर्ने गरिएकोमा त्यस मध्ये करिब ३० जनामा नया संक्रमण देखिने गरेको छ ।
माथिका तथ्यांकहरुबाट के देखिन्छ भने पछिल्लो समयमा दक्षिण एसियाली देशहरुमा प्यान्डेमिकको अवस्था नियन्त्रितका साथै स्थिर देखिएको छ भने नेपालको प्यान्डेमिक अवस्था पनि गत करीब ४ महिनाभन्दा बढी समयदेखि क्रमिकरुपमा घट्दै आएको छ। यो निकै खुशीको कुरा हो । करीब ५ महिना पछि दक्षिण एसियामा संक्रमण दर नेपालकोभन्दा अन्य देशको धेरै देखिएको छ। पछिल्लो समयमा दक्षिण एसियामा श्रीलंकामा र माल्दिभ्समा संक्रमण दर बढ्दो छ भने नेपाल लगायत अन्य देशहरुको संक्रमण दर घट्दो छ ।
समग्रमा गतहप्ताको आंकडा हेर्दा नेपालमा प्यान्डेमिक ओरालो लाग्ने क्रम जारी छ। गत हप्ताको दैनिक जम्मा संक्रमितको संख्या दुई हप्ता अगाडिको साताको जम्मा झन्डै आधा मात्र देखिएको छ। तर कोभिड संक्रमित घट्दै जानुको एक प्रमुख कारण कम परिक्षण गर्नु पनि हो । परिक्षण कम गर्दा प्यान्डेमिक लुकेर बस्ने सम्भावना भने पक्कै पनि हुन्छ। प्रयाप्त परिक्षण गर्दागर्दै दैनिक नया संक्रमित र नया मृत्यू घट्दै गएमा त्यसले सहि मानेमा प्यान्डेमिक घटेको अर्थ लाग्छ। त्यसको ज्वलन्त उदाहरण भुटान हो ।
यस दौरान नेपाल सरकारको पछिल्लो तथ्यांक र जानकारी अनुसार नेपालमा हालसम्म २७२६१४ जना मानिसलाई कोरोना संक्रमण भइसकेको छ जसमा समग्रमा करीब ३५% महिला र ६५% पुरुष छन्। पछिल्लो समयमा संक्रमितहरु मध्ये करीब ५३% पुरुष र ४७% महिला छन् । त्यस्तै २०५४ जनाले यसै संक्रमणका कारण ज्यान गुमाईसकेका छन् जसमा करीब ३०% महिला र ७०% पुरुष छन्। नेपालमा हाल जम्मा संक्रमित मध्ये ९८.६२% संक्रमण मुक्त भइसके भने ०.७५% को यसै संक्रमणका कारण मृत्यू र ०.६३% मा सक्रिय संक्रमण बाँकि छ । पछिल्लो जानकारी अनुसार हाल नेपालमा ईलाम, भोजपुर, संखुवासभा, सोलुखुम्बु, मुस्तांग, मुगु, पश्चिम रुकुम र अछाम कोरोना संक्रमणरहित जिल्ला हुन पुगेका छन् भने काठमाडौँ ५०० भन्दा धेरै सक्रिय संक्रमण भएको एक मात्र जिल्ला हो । त्यस्तै दक्षिण एसियाली देशहरुमा नेपाल हाल सक्रिय संक्रमण दर सबैभन्दा कम भएको देश जो जुन हाल ०.६% छ भने पाकिस्तानमा यो दर २८.६% छ जुन दक्षिण एसियामा हाल सबैभन्दा उच्च हो । त्यस्ता केसहरुलाई सक्रिय संक्रमित भनिन्छ जो हाल उपचाररत छन् र संक्रमण मुक्त भइसकेका छैनन्। त्यस्ता व्यक्तिले संक्रमण अरु व्यक्तिलाई सजिलै सार्न सक्दछन् ।
हालसम्म नेपालमा २११३५४९ जनाको PCR परिक्षण गरिएको छ भने औसतमा समग्र संक्रमण दर अर्थात् पोजिटिभिटी (Cumulative positivity) १३% जति देखिएको छ।
जे होस्, दक्षिण एसियाका अन्य देशहरुमा जस्तै नेपालमा पनि कोरोना प्यान्डेमिक घट्दै जाने क्रम जारी छ। त्यसै अनुरुप जनजीबन पनि सामान्य बन्दै गएको अवस्था छ। तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई भुल्ने बेला भइसकेको छैन। त्यसैले हरेक व्यक्तिले भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भिडभाड नगर्ने आदि साबधानीका कुराहरु अपनाउनु पर्ने देखिन्छ ।
यस शृंखला तथा यस लेख नेपालमा साप्ताहिकरुपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउंछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ । यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाई हो। जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाईं जारी छ, होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ ।
prabinshrestha@hotmail.com
बीएण्डबी अस्पताल, ग्वार्को, ललितपुरमा कार्यरत डा. श्रेष्ठ कन्सल्टेन्ट न्यूरोसर्जन तथा कोभिड ज्ञाता हुन्।