
सिमकोट– हुम्लामा गुडिरहेको ट्र्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ।
मंगलबार बेलुका सदरमुकाम सिमकोटबाट बुराउसे गाउँ जाने क्रममा हुमाने खोला क्षेत्रमा ट्र्याक्टरबाट खसेर महिलाको मृत्यु भएको हो।
घटनास्थल पुगेका प्रहरी निरीक्षक सिताराम बिष्टले सदरमुकाम सिमकोटबाट सिमकोट गाउँपालिकाकै वडा नम्बर ४ को बुराउसे गाउँ जान खाद्यन्न लोड भएको ट्र्क्टरबाट खसेर सिमकोट गाउँपालिका वडा नम्बर ४ की वर्ष २८ की उपाल लामाको मृत्यु भएको जानकारी दिए।
लु अ.अ. भा १०१४ नम्बरको ट्याक्टरमा सिमकोटबाट खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न लोड गरेर बुराउसे जाँदै थियो। सोही क्रममा लामालाई बान्ता हुन थालेपछि ट्र्याक्टर रोक्न खोज्दा खसेको चालक दिपेन्द्र कुमार पौडेलले बताए।
खाद्यान्न लोड गरिएको ट्र्याक्टरमा चालकसहित सात जना थिए।
महिलाको शव प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।