
धनगढी – बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले उनकै सहपाठीलाई पक्राउ गरेको छ।
भागरथीको छिमेकी समेत रहेका उनलाई आज (बुधबार) सार्वजनिक गर्ने तयारी प्रहरीको छ।
घटनाको १३औँ दिन प्रहरीले उनलाई पक्राउ गरेको हो । आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतको दाबी छ।
भागरथीको बलात्कारसमेत भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरिसकेको छ।
‘आरोपी भागरथीका छिमेकी तथा सहपाठी हुन्, सो दिन विद्यालयबाट फर्किँदा बाटोमा बलात्कार तथा हत्या गरेको उनले स्विकारेका छन्। आज उनलाई सार्वजनिक गर्दै छौँ,’ सुदूरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले भने।
स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा विद्यालयबाट फर्किँदा सम्पर्कविहीन भएकी थिइन्। अर्को दिन स्थानीय लवलेक जंगलमा उनको शव भेटिएको थियो।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका ती युवकले अभियोग स्विकारेका छन्।
अन्य परिस्थितिजन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ । तर, उनलाई पक्राउ नगरी प्रहरीले केही दिन निगरानीमा मात्र राखेको थियो।
उनीविरुद्ध पर्याप्त प्रमाण भेटिएपछि पक्राउ गरिएको स्रोत बताउँछ।
भागरथीको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीय विद्यार्थीले गरेको प्रदर्शनमा आरोपी पनि सहभागी हुँदै आएका बताइएको छ।