
सिमकोट – हुम्लाको खार्पुदेखि ग्याग्रुसम्मको सडक निर्माण गर्ने कार्य रोकिएको छ।
कडा चट्टानी भागमा बिष्फोटक पदार्थको व्यवस्था हुन नसक्दा निर्माण कार्य दुई वर्षदेखि रोकिएको हो।
बिष्फोटक पदार्थ नेपाली सेनासँग लिनका लागि लामो प्रकृया भएका कारण हालसम्म उपलब्ध नहुँदा सडकको निर्माण कार्य रोकिएको निर्माण कम्पनीले जनाएको छ।
खार्पु देखि ग्याग्रुसम्मको ६ किलोमिटर सडक निर्माणको जिम्मा पाएको स्वच्छन्द दावा जेभीका स्थानीय प्रतिनिधि कुलबहादुर लामाले चट्टान रहेको क्षेत्र बाहेक अन्य भागमा काम सम्पन्न भइसकेको बताए।
पूर्वाधार विकास कार्यालयले बिष्फोटक पदार्थको व्यवस्था गर्न नसकेका कारण काम रोकिएको उनले गुनासो गरे ।
एक वर्ष अगाडि सकिनु पर्ने काम बिष्फोटक पदार्थको अभाव हुँदा हालसम्म नसकिएपछि भुक्तानी पनि रोकिएको उनले बताए।
उक्त खण्डमा दुई वटा कडा चट्टान रहेका छन्।
भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले पनि सेनासँग बिष्फोटक पदार्थका लागि प्रक्रिया लामो भएका कारण ढिलाई भएको बताए।