
सिमकोट– परम्परागत कृषि पेशा छोडेर तरकारी खेतीमा लागेका किसानले राम्रो आम्दानी गर्न थालेका छन्। तरकारी बिक्रीबाट हुने आम्दानीले किसानहरुको अनुहारमा खुसी थपिएको छ।
हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ४ बुराउसेकी छपाल लामाले पहिले खेतिपातीबाट छाक टार्न मात्रै पुग्ने भएपनि तरकारी खेती थालेपछि आम्दानी पनि हुन थालेको बताइन्।
केही जग्गामा चिनो, फापर, कोदो लगायतको खेती गरेको र बाँकी जमिनमा तरकारी खेती गरेको उनको भनाइ छ। प्याज, काउली, आलु, टमाटर, धनियाँ लगायतका तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको उनले जानकारी दिइन्।
आम्दानीबाट छोराछोरी पढाउन र अन्य घर खर्च चलाउन तरकारी खेतीबाट सहज भएको उनी बताउँछिन्।
सोही गाउँकी किसान च्यामा लामाले पनि मौसमी र बेमौसमी तरकारी खेतीबाट आर्थिक उपार्जन भइरहेको बताइन्। उनी बारीमा उत्पादन भएको तरकारी सिमकोट बजारमा बिक्री गर्छिन्। दैनिक रुपमा नगद रकम हात पर्ने हुँदा तरकारी खेतीतर्फ आकर्षित भएको उनको भनाइ छ।
बराउसे गाउँमा करिब २५ जना किसानले तरकारी खेती गर्दै आएका छन्।