
बुटवल– जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रतिनिधि सभा विघटनले व्यवस्थामाथि चुनौती थपेको बताएका छन्।
रूपन्देहीको भैरहवामा लुम्बिनी प्रेस क्लबले गरेको कार्यक्रममा बोल्दै राउतले प्रतिनिधि सभा विघटनलाई आफूहरुले असामान्य घटनाको रुपमा लिएको बताए।
नेपालमा एउटै पुस्ताले सबै खाले राजनीतिक व्यवस्था देखेको भन्दै उनले प्रतिनिधि सभा विघटनले फेरि पनि व्यवस्थामाथि चुनौति थपेको उल्लेख गरे। दुई तिहाइको सरकार हुँदा पनि असामान्य अवस्था आएको भन्दै उनले नेपाली जनताले राजनीतिबाट अपेक्षा गर्ने ठाउँ नभएको बताए।
राउतले सरकार बदल्नुभन्दा पनि सही पात्र चयन गर्दै पार्टीहरुमा शुद्धिकरणका लागि अभियान थाल्नुपर्ने उल्लेख गरे। उनले जनताबाट चुनिएर गएका प्रतिनिधिले जनताको पक्षमा काम गर्न नसके फिर्ता बोलाउन पाउनुपर्ने बताए।
उनले यस्तो अधिकार जनतामा रहनुपर्ने भन्दै यसलाई कानुनी रूपमै उल्लेख गर्नुपर्ने बताए। जनतालाई वास्तविक सम्प्रभु बनाउन राइट टु रिकलको व्यवस्था हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए।
‘जनतामा सम्प्रभुता व्यवहारिक रूपमा लागू भएको छैन। राइट टु रिजेक्ट पनि जनतासँग हुनुपर्छ,’ उनले भने, ‘जनप्रतिनिधिले बाचा गरेअनुसारको काम गरेन भने जनताले फिर्ता बोलाउन सक्ने अधिकार जनताको हातमा दिनु जनसम्प्रभुता कायम गर्नु हो। यो खालको जनसम्प्रभुताको सिद्धान्त हामीले राखेका छौँ।’
जनताले हरेक निर्णयमा सहभागी हुन पाउनुपर्ने राउतको भनाइ छ।
‘जस्तो गाउँपालिकामा ६०–७० करोडको बजेट आएको छ भने त्यो नेताहरुले मात्र निर्धारण गर्छ,’ उनले भने, ‘त्यसको कार्यान्वयनको लागि जनतालाई सोधिनुपर्छ, गाउँपालिकाले हरेक मतदातालाई सिम कार्ड उपलब्ध गराएर डिजिटल माध्यमबाट जनताको राय लिन सक्छ।’