
सिमकोट– हिमाली जिल्ला हुम्लामा पहिलो पटक फुटबल प्रतियोगिता हुने भएको छ। हुम्ला फुटबल एकेडेमीको आयोजनामा आगामी चैतमा फुटबल प्रतियोगिता हुन लागेको हो।
एकेडेमीका अध्यक्ष विष्णु रावतले जिल्लामा नयाँ दर्ता हुन चाहने तथा दर्ता भइसकेका पुराना क्लबहरुलाई प्रक्रिया पूरा गरेर प्रतियोगिताको तयारी गर्न आग्रह गरेका छन्।
प्रतियोगितामा ६ वटा टोली मात्र समावेश गरिने हुँदा दर्ता भएका क्लबहरुबीच नकआउट प्रतियोगिता सञ्चालन गरी छनौट भएका क्लबहरुबीच लिग सञ्चालन गरिने अध्यक्ष रावतले जानकारी दिए।
क्लबहरुले फागुन १० देखि २५ गतेसम्म एकेडेमीका कार्यालयमा दर्ता भइसक्नु पर्नेछ।
प्रतियोगिताको विजेतालाई ७५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार पाउने छ।
यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा सर्वाधिक गोलकर्तालाई विशेष पुरस्कारद्वारा सम्मानित गरिने एकेडेमीले जनाएको छ।