
मेलम्ची, सिन्धुपाल्चोक–खानेपानीमन्त्री मणि थापाले मेलम्ची खानेपानी आयोजनालाई चुनावको नारा तथा एजेण्डा बनाउन नहुने बताएका छन्। सोमबार मेलम्ची खानेपानीको सुरुङमा पानी भरेर परीक्षण उद्घाटनका कार्यक्रममा खानेपानी मन्त्री थापाले यस आयोजनालाई सफल बनाउन सबै लागिपर्नुपर्ने बताएका हुन्।
मन्त्री थापाले मेलम्ची खानेपानी आयोजनाको सफलताले नयाँ संसारको सिर्जना हुने बताए।
उनले भने, ‘मलाई प्राविधिक कुरा केही थाहा छैन। धेरै समय लगाएर २५ प्रतिशत मात्र बुझेको छु। अझै बुझ्न बाँकी छ। त्यसलैले यसलाई सफल बनाउन सबैले लागि पर्नुपर्छ। जनतामा गढेको मेलम्ची असफल हुन्छ भन्ने सोचलाई हटाउन जरुरी छ।’
यस्तै सरकारले विशेषगरी सिन्धुपाल्चोकको पर्यावरणमा ध्यान दिन जरुरी रहेको उनले बताए। उक्त क्षेत्रको पर्यावरणमा ध्यान नदिएमा खानेपानी आयोजना दिर्घकालीन रुपमा नचल्ने उनले बताए।
यसैगरी उनले मेलम्ची खानेपानी आयोजनासँगै यस क्षेत्रको सांस्कृतिक तथा पर्यटन क्षेत्रलाई पनि अगाडि बढाउनु पर्ने पनि बताए।
सोही कार्यक्रममा खानेपानी मन्त्री थापालाई मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र सरोकार समन्वय समितिले ज्ञापन पत्र बुझाएको छ। समितिका केन्दीय अध्यक्ष उपेन्द तामाङले आयोजनाको औपचारिक पथान्तरण अगावै प्रभावित क्षेत्रका स्थानीय तहहरुले प्राप्त गर्ने लेवीको कार्य परीक्षण अगावै हुने भनिए पनि काम नभएको बताए। उनले लेवीको कार्यलाई यथाशिघ्र कानुनी सुनिश्चितता प्रदान गर्न आग्रह गरेका छन्।
यस्तै उनले आयोजना पथान्तरणसँगै कार्यक्रमहरुको निरन्तरता लगायत समुदायबाट उठाउँदै आएका दिर्घकालीन महत्वका विकास निर्माणका मागहरु छिटोभन्दा छिटा सम्बोधन गर्न पनि सरकारसँग माग गरेका छन्।
उनले मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै भने, ‘स्थानीय जनताले मेलम्ची आयोजनामा कुनै अवरोध गरेका छैनन् र गर्ने छैनन्। तर मेलम्ची खानेपानी आयोजना र सरकारका तर्फबाट स्थानीय तहमा प्राप्त गर्नुपर्ने लेबी (रोयल्टी) को सन्दर्भमा कुनै पनि निर्णय नगरिकन परीक्षणको नाममा पानी पैठान्तरण गर्दैछ। यो पूर्ण रुपमा खानेपानीलाई काठमाडौँ पैठान्तरण गर्नुअघि स्थानीय जनताहरुले गरेका माग सम्बोधन गरेर कार्यान्वयन गरिनुपर्छ।’
उनले थपे, ‘सुख्खायाममा मेलम्ची खोलामा न्यूनतम मापदण्ड बमोजिमको पानी छाडिने कुराको अनिर्वाय रुपमा प्रत्याभूति गरियोस्, मर्कामा परेका सीएमसी पीडित मजदुर तथा सप्लायर्सहरुको मागहरु पूरा गरियोस्, आयोजना माथिका बस्तीहरुको यथास्थानमै सुरक्षित बसोबासको प्रत्याभूति गरियोस्, आयोजना कार्यान्वयनका क्रममा जोखिममा रहेका अम्बाथान, ग्याल्थुम र सिन्धुखोला तटीय क्षेत्रका खानेपानीका मुहान, वस्ती तथा खेतीयोग्य जग्गाहरुको संरक्षण तथा वातावरणीय संरक्षण लागू गरियोस्। र, याङ्ग्री र लार्के (मेलम्ची फेज–२) यथासिघ्र सुरुवात गरिनुपर्ने हाम्रो माग हो।’
मन्त्री थापाले उनीहरुका समस्या समाधानसँगै उपत्यकामा पानी पठान्तरण गर्ने बताए। ‘आज दुई जना साथीहरुले ज्ञापन पत्र बुझाउन भएको छ। त्यसमा मन्त्रालय गम्भीर छ। स्थानीयबासीहरुको जो समस्या छ, समाधान गर्नु पर्ने दायित्व सरकारको भएको हुनाले सरकार त्योबाट भाग्दैन। उनीहरुका समस्यालाई हामीले क्रमसँगै प्राथमिकताका आधारमा समाधान गछौँ’, उनले भने, ‘उपत्यकामा पानी पनि हामी पैठान्तरण गछौँ। स्थानीयको समस्या पनि समाधान गछौँ। यी दुबै कुरा हामी सँगसँगै गछौँ। मन्त्रालयका तर्फबाट विश्वास दिलाउन चाहन्छु।’
मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा पानी भरेर परीक्षण सुरु भएको छ।
खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै २६ किलोमिटर सुरुङमा पानी भरेर परीक्षण सुरु गरिएको हो। यसअघि गत असारमा पनि पानी भरेर परीक्षण गरिएको थियो। त्यस बेला हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।
यस्तो दुर्घटना नदोहोरियोस् भन्नका लागि यसपालि विशेष सतर्कता अपनाएको आयोजनाले जनाएको छ ।
नेपाल सरकारले वि.स २०२९ सालदेखि नै खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरुको पहिचान गर्न अध्ययन अघि बढाएको थियो। तर २०१४ सालमा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दिर्घकालीन समाधानका लागि मेलम्ची लगायत विभिन्न २२ वटा विकल्पहरु पहिचान गरेको थियो। त्यसपछि २०४९ सालको अध्ययनले आर्थिक र प्राविधिक रुपमा उत्तम विकल्प मेलम्ची, याङ्गी र लार्केबाट दैनिक कुल ५१ करोड लिटर (प्रत्येकबाट १७ करोड लिटर) पानी काठमाडौँ उपत्यकामा आपूर्ति गर्न उपयुक्त निष्कर्ष निकालेको थियो।
सोही अनुसार सरकारले चरणबद्ध रुपमा मेलम्ची, याङ्गी र लार्केको पानी काठमाडौँ ल्याउने योजना कार्यान्वयनका लागि वि.स. २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन भई यस समितिबाटै पानी पैठान्तरणका लागि कार्य भइरहेको छ।