
काठमाडौँ- संसद पुनःस्थापनासँगै सरकार गठन र विघटनमा मुलुकको राष्ट्रिय राजनीति केन्द्रीत हुन थालेको छ। सरकार कसको र कसरी बनाउने भन्नेबारे दलहरुबीच आन्तरिक र छुट्टाछुट्टै छलफल सुरु भएका छन्।
नेकपाका एक खेमाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले केपी शर्मा ओलीसँगको सत्ता सहकार्य असम्भव भएको निष्कर्ष निकाल्दै नैतिकताका आधारमा ओलीले राजीनामा नदिए उनलाई संसदीय दलको नेताबाट हटाएर नयाँ सरकार गठन गर्ने दौड सुरु गरेका छन्।
यो क्रममा उनीहरुले बुधबार काँग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेताहरुसँग बिहीबार छलफल गरेका छन्। काँग्रेस सभापति देउवाले पनि बिहीबार नै आगामी राजनीतिक दिशाबारे आफ्नो पार्टी पदाधिकारी बैठकमा छलफल गरेका छन्।
तर देउवा कानुनी रुपमा नेकपा एक रहेकै अवस्थामा सत्ता सहकार्यबारे निर्णय लिन हतारो गर्न नहुने मनस्थितिमा रहेको बुझिन्छ। सत्ताको जोडघटाउ सुरुवातसँगै लामो समयदेखिको राजनीतिक स्थायीत्वको माग फेरि पनि उपेक्षित हुने संकेत देखिएको छ।
स्थायीत्वका लागि एक भएको भन्दै डम्फु बजाएको नेकपा हाल राजनीतिक रुपले दुई फ्याकको अवस्थामा छ। तर नेकपा कानुनी रुपमा एक हुँदासम्म सत्ताको ढोका काँग्रेस र जसपाका लागि बन्द हुन्छ।
त्यसोभए ओली र प्रचण्ड खेमाबीच पुनः एकता कति सम्भव छ? ठोष जवाफका लागि आगामी केही दिनका गतिविधि नियाल्नु पर्ने भएपनि यी दुवै खेमामा ससद पुनःस्थापनासँगै एकताको शब्दावली बाक्लिन थालेको छ। मुलुकलाई समिकरणको दिशामा धकल्नभन्दा पार्टी एकता किन नगर्ने भन्नेमा नेकपाका केही नेताहरु केन्द्रीत हुन थालेका छन्।
तर उनीहरु तीनै नेताहरु हुन जसले भविष्यबारे आँखा चिम्लिएर अर्थात कुनै पनि ठाउँ नराखेर एकअर्कालाई तल्लोस्तरको गालीगलौजको युद्ध नै चलाएका थिए सार्वजनिक रुपमा। विगत दुई महिनामा उनीहरुले एकअर्कालाई लगाएको आरोप–प्रत्यारोपको श्रृङखला हेर्ने हो भने एकता असम्भवप्राय छ।उनीहरुको विचारमा पनि स्पष्ट विभाजन देखिएको छ। खासगरी जबजका पक्षविपक्षमा।
पार्टीको तल्लो तहमा परिसकेको चिरा र मतदातालाई समेत असर पर्ने गरी भएका गतिविधिले उनीहरुको एकता टाढा देखिन्छ। तर फुटजुटको राजनीतिक पृष्ठभूमि र बदलिएको राजनीतिक परिस्थितिलाई ख्याल गरेमा एकता सम्भव भएको दुवै खेमाका नेताहरुले विश्लेषण सुरु गरेका छन्।
कानुनी रुपमा एक भएको र आधिकारिताका मामिलामा निर्णय आइनसकेका बेला एकता सम्भव हुने उनीहरुको विश्लेषण हो।
बालुवाटारमा झण्डै दुई तिहाई बहुमत प्राप्त पार्टी फुटाएर २५ प्रतिशत सीट रहेको काँग्रेसलाई सत्ता जिम्मा लगाउने हो भने आगामी चुनावमा जनताका अघि मुख देखाउन ठाउँ नहुने विश्लेषण सुरु भएको छ। ससद पुनःस्थापना नहुने भएकाले प्रचण्ड खेमालाई अलग्याएर निर्वाचनमा आफ्नो पार्टी पहिलो बनाउन युद्धस्तरमा अभियान सुरु गरेका नेताहरु संसद पुनःस्थापनासँगै बदलिन थालेका छन्।
प्रचण्ड खेमाका नेताहरुले भने ओलीले नैतिकताका आधारमा राजीनामा दिएमा जनताका बीच आत्मलोचना गरेमा एकता असम्भव नभएको प्रतिक्रिया सार्वजनिक रुपमै दिइसकेका छन्।
संसद पुनःस्थापनापछि पहिलो पटक बुधबार बसेको यो खेमाको स्थायी कमिटी बैठकका निर्णय सुनाउने क्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको पक्षमा आफूहरु रहेको बताए।
तर संविधान, लोकतन्त्रमाथि प्रहार गर्ने, पार्टीलाई चोइट्याउने र गुट उपगुटको घर बनाउने प्रवृति अँगालेका ओलीले आत्मलोचना नगरे र उनी नयाँ ढंगबाट प्रस्तुत नभएसम्म एकता कुरामा मात्रै सिमित हुने निष्कर्ष निकालेको उनले सुनाए।
त्यसो भए प्रचण्ड खेमाको यो मान्यता अनुसार ओली अघि बढ्लान् त? सम्भावना निकै कम देखिन्छ।
संसद पुनःस्थापनापछि कमजोर देखिएका र शासनको निरन्तरका लागि अयोग्य सावित ओली अझै पनि सजिलै गल्ने अवस्थामा देखिन्नन्। नत उनका बफादार नेताहरुले सजिलै सम्झौता गर्ने देखिन्छ। राजीनामाका लागि ओली निकट केही स्थायी कमिटी सदस्यहरुको भने दबाब पर्न थालेको छ। त्यसमध्येका एक किरण गुरुङले पार्टी एकताका लागि ओलीले राजीनामा दिनु उपयुक्त विकल्प भएको बताए।
उनले भने, ‘सर्वोच्चको फैसला हामीले मान्नुपर्छ। आगामी दिनमा थप राजनीतिक जटिलता नआओस् भनेर प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ। यसले उहाँलाई नैतिक रुपमा माथि पुर्याउँछ।’
तर स्थायीत्वको आधार खडा नभई प्रधानमन्त्री ओलीले राजीनामा दिँदा मुलुक अस्थिरतातर्फ धकलिने ओली निकट स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाीले बताए।
उनले भने, ‘बहुमतको सरकार बनाउन नेकपाको आन्तरिक एकता बलियो हुनुपर्छ। त्यो सुनिश्चताता भएको खण्डमा मात्रै प्रधानमन्त्रीको राजीनामाको कुरा होला। मुलुकलाई अन्यौलमा राखेर उहाँले राजीनामा दिनुको कुनै अर्थ रहँदैन।’
संसद पुनःस्थापनासँगै नेकपा विवाद पुस ५ गते अघिको परिस्थितिमा पुगेको छ। ओलीले सहमति विपरीत एकलौटी कार्यशैलीलाई निरन्तरता दिएको भन्दै प्रचण्ड खेमाले ओलीको विकल्प खोज्न थालेपछि नेकपा पछिल्लो पटक पुनः विवादमा गुजुल्टिएको थियो।
भदौ २६ गते प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने गत वर्ष मंसिर ४ गतेको निर्णय पुनर्लेखन गर्न सहमत भएका ओलीले असोज १५ नकट्दै तोडेको आरोप छ। ओलीले एकलौटी ढंगबाट राजदूत र मन्त्रीहरु नियुक्त गरेको, विदेशी जासुसी संस्थाका प्रमुखसँग गोप्य भेट गरेको र कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्तामा सहयोग गरेको आरोप पनि छ।
तर यी सबै विवादका बीच ओलीले बैठकहरु बोलाउन नचाहेपछि उनी र प्रचण्डबीच एकअर्काविरुद्ध लिखित आरोप–प्रत्यारोपको श्रृङ्खला सुरु भएको थियो। र, कार्तिक २८ गते प्रचण्डले ओलीविरुद्ध सचिवालयमा पेश गरेको १९ पृष्ठलामो आरोपपत्र फिर्ता नलिएको झोकमा ओलीले संसद विघटन जस्तो विवादास्पद कदम उठाएका थिए।
ओलीले पार्टी अनुशासन उल्लंघन गरेको निष्कर्ष निकाल्दै प्रचण्ड खेमाले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ। यद्यपि उक्त निर्णय निर्वाचन आयोगले अवैध ठहर गर्यो।
तर राजनीतिक रुपमा प्रचण्ड खेमा धेरै अघि बढिसकेको छ। यो खेमामा प्रचण्डसँगै ओलीको स्थानमा माधवकुमार नेपाल पनि अध्यक्ष घोषित भएको दुई महिना पुगिसकेको छ। पार्टी संगठनहरु पुनर्गठनको कामसमेत लगभग सकिएको छ। ओली खेमाको पनि अवस्था उस्तै हो। तत्कालै प्रचण्डलाई कार्यकारी अध्यक्ष र नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको ओली खेमाको संगठन पनि तल्लो तहसम्म पुनर्गठन भइसकेको छ।
प्रचण्ड खेमाका नेता वर्षमान पुनले पार्टी एकता सम्भव भएको निष्कर्ष आफूहरु त्यसका लागि प्रयास सुरु गरेको बताए। उनका अनुसार शीर्ष नेतालाई सम्मानजनक व्यवस्थापन गरेर दोस्रो तहका नेताहरु नेतृत्वमा आउने गरी एकता गर्नुपर्नेमा छलफल सुरु भएको छ।
यस्तो प्रयासमा ओलीखेमाबाट ज्ञवाली, शंकर पोखरेल र प्रचण्ड खेमाकातर्फबाट नेता पुन, घनश्याम भुसाल, योगेश भट्टराई, जनादर्शन शर्मालगायत नेताहरु छन्।
सफल होला बामदेवको एकता अभियान?
यस्तो अवस्थामा एकता सम्भव होला? संसद विघटनसँगै अन्य नेताहरुले आफू अनुकूल कित्ता समात्दै गर्दा तटस्थ बसेको घोषणा गरेका नेकपा उपाध्यक्ष वामदेव गौतमले एकता सम्भव भएको बताए।
यो बीचमा संसद विघटन ओलीको गलत कदम भएको तर पार्टी दुई चिरामा विभक्त हुनुमा ओली र प्रचण्ड दुवै दोषी रहेको निष्कर्ष सुनाएका गौतमले संसद पुनःस्थापना भएको भोलिपल्ट बुधबार त्यसको स्वागत गर्दै ओलीले राजीनामा दिनुपर्ने र अब पार्टीका बैठकहरु धुम्बाराहीमा बस्नुपर्ने लिखित धारणा सार्वजनिक गरे।
बिहीबार एकताको प्रस्तावसहित प्रचण्ड निवास खुमलटार पुगेका गौतमले प्रचण्डलाई भनेका छन्, ‘अहिले ओलीले राजीनामा दिनुको विकल्प छैन। तर त्यसपछि पनि नेकपाकै दुई तिहाइको सरकार बनाउने हामीसँग ऐतिहासिक अवसर छ। त्यसको लागि नेकपा एकता पहिलो शर्त हो।’
जवाफमा प्रचण्डले ओलीले राजीनामा नदिई, सार्वजनिक रुपमा आत्मलोचना नगरी उनीसँगको एकता सोच्न पनि नसकिने बताएका थिए। नेकपालाई पुनः एक बनाउन गौतमसँगै अन्य नेताहरु पनि जुरुमुराएका छन्, तर एक्लाएक्लै।
पार्टी विभाजन हुँदा कतै पनि नउभिएको घोषणा गरेका केन्द्रीय सदस्य लालबाबु पण्डितले पनि नेकपा एकता सम्भव भएको सुनाए। उनले भने,‘मैले पहिले पनि भनेको थिएँ एकता सम्भव छ। आज पनि भन्छु सम्भव छ। त्यसका लागि मेरोस्तरबाट सबै प्रयासहरु सुरु गरेको छु।’