अनुष्का श्रेष्ठसँग भिडियो अन्तर्वार्ता

‘माक्कुसे’ ब्राण्डिङमा व्यस्त पूर्वमिस नेपाल अनुष्का

+
-

अष्ट्रेलियामा अध्ययन गरिरहेका बेला उनले केही साथीहरुलाई आफ्नो भविष्यको योजना सुनाइन्, ‘नेपालमै फर्केर केही गर्छु।’

उनको कुरा कसैले पत्याएनन्, ‘सुरुसुरुमा सबैले यस्तै भन्छन्।’

उनले अरुको कुरालाई पनि मनन् गरिन्। आफूलाई समय दिइन्। समय बित्दै गयो तर आफ्नै देशमा फर्केर केही गर्छु भन्ने उनको सोच फेरिएन। सधैँ लागिरह्यो, ‘होइन, मलाई नेपालमा नै केही गर्नुछ।’

फर्किहाल्नका लागि भने के–के मिलिरहेको थिएन। यस्तैमा नेपालमै ‘केही गर्ने’ साइत ‘मिस नेपाल’ले जुराइदियो।

उनले पाँच वर्ष विदेशमा बिताइन्। अध्ययनको शिलशिलामा बाहिर रहेपनि उनको मन भने नेपालमै थियो। हरेक वर्ष नेपाल आइरहन्थिन्।

‘पाँच वर्ष बाहिर बस्दा हरेक वर्ष नेपाल आउँथेँ। मिस नेपालमा भाग लिँदा नेपालमै बस्न जुर्‍यो,’ पूर्व मिस नेपाल अनुष्का श्रेष्ठले सुनाइन्।

सन् २०१९ मा ‘मिस नेपाल’ को ताज पहिरिएर अनुष्का नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय मञ्चमा पुगिन्। जहाँ उनले नेपालको विविध संस्कृतिलाई चिनाउने मौका पाइन्।

‘आफ्नो संस्कृतिलाई विश्वसामु चिनाउन पाउँदा निकै खुसी लाग्यो,’ अनुष्काले त्यो पल सम्झिँदै भनिन्।

मिस नेपाल हुनुअघि उनी अष्ट्रेलियाको एक बैंकमा जागिरे थिइन्। जागिरभन्दा पनि अनुष्कालाई आफ्नै केही व्यवसाय गर्न मन थियो। त्यही हुटहुटीले होला उनको मानसपटलमा एउटा ‘आइडिया’ फुर्‍यो–‘माक्कुसे।’

उनी आफ्नो त्यो ‘आइडिया’ छिटोभन्दा छिटो बजारमा ल्याउन चाहन्थिन्। मिस नेपाल भएको वर्षदिनमै २५ लाख रुपैयाँको लगानीमा अनुष्काले नयाँ उद्यम सुरु गर्ने भइन्। जसको नाम जुराइन्–‘माक्कुसे।’

‘माक्कुसे’लाई जतिसक्दो छिटो बजारमा ल्याउन मन त थियो, तर त्यसका लागि पूर्वतयारी र बजारको स्थितिलाई अध्ययन गर्न पनि जरुरी थियो। जसका लागि अनुष्का लागिन्– काठमाडौँका पुराना मिठाइ पसलतिर।

अनुष्काका ८ महिना बजारको अध्ययनमै बिते। व्यवसायमा हात हाल्नुअघि त्यसबारे आफूलाई पनि पूर्ण जानकारी हुनुपर्छ भन्ने उनलाई राम्रोसँग थाहा थियो।

उनी भन्छिन्, ‘रैथाने मिठाइ पसलहरुमा गएर पकाउने विधि र त्यसको व्यवस्थापनका बारेमा सिक्नुपर्छ भन्ने लाग्यो।’

पसल–पसल गएर मिठाइ बनाउने विधि सिकिन्। त्यसपछि आफूले घरमा करिब दुई महिना अभ्यास गरिन्। तर आफूले पकाएको मिठाइ अनुभवीहरुले पकाएको जस्तो स्वादिष्ट लागेन अनुष्कालाई।

त्यसपछि उनले सोही क्षेत्रका काम गरेर अनुभव बटुलेकाहरुसँग काम गर्ने निधो गरिन्।

अहिले उनको उद्यममा उनलाई अनुभवी व्यक्तिहरुले साथ दिइरहेका छन्। ‘माक्कुसे’ले प्रत्यक्ष रुपमा ८ जना र अप्रत्यक्ष रुपमा ३० जनालाई रोजगारी दिएको पूर्व मिस नेपाल अनुष्का बताउँछिन्।

‘माक्कुसे’ के हो ?


‘माक्कुसे’ अनुष्काले सुरु गरेको मिठाइको ‘ब्रान्ड’ हो।

उनले नेवारी भाषाको शब्द ‘माक्कुसे’को अर्थ प्रस्ट्याउँदै भनिन्, ‘यो स्वाद जनाउने शब्द हो। मुखै गुलियो बनाउने स्वादलाई माक्कुसे भनिन्छ। तर यसको ठ्याक्कै अर्थ न नेपाली भाषामा छ न त अंग्रेजीमा।’

यसरी मौलिक नामाकरण गरिएको ‘माक्कुसे’ पुष्टकारी तथा गुँदपाक हो। ‘माक्कुसे’मार्फत एउटा मौलिक नेपाली परिकारहरुलाई प्रस्तुत गर्ने कोशिस गरेको अनुष्काको भनाइ छ।

‘पुष्टकारी, गुदँपाक, मक्का, कुकिज र डार्क चक्लेट गरी अहिलेका लागि पाँच परिकार छन्,’ उनले ‘माक्कुसे’का उत्पादनबारे सुनाइन्।

उनका अनुसार यी परिकारहरु विभिन्न ‘फ्लेबर’मा बजारबाट खरिद गर्न सकिन्छ।

यी परिकार बजारमा ल्याएको ३ महिना भयो। यस अवधिमा उपभोक्ताले ‘माक्कुसे’का परिकारहरु निकै मन पराएको अनुष्का बताउँछिन्।

अनुष्काले पुष्टकारी तथा गुँदपाक रैथाने मिठाइ भएपनि यसलाई नयाँ तरिकाले पस्किने आफूहरुले प्रयास गरेको बताइन्। ‘हामीले मौलिक मिठाइलाई आकर्षक प्याकेजिङका साथ गुणस्तरमा पनि त्यति नै ध्यान दिएका छौँ,’ उनले भनिन्।

अनुष्का पनि पुष्टकारी र गुँदपाकको स्वाद लिँर्दै हुर्केकी हुन्। लामो समय अध्ययनका लागि बाहिर गए पनि रैथाने मिठाइ पुष्टकारी र गुँदपाकको स्वाद आफूसँग नजिक रहेको उनी बताउँछिन्।

बाहिर बसेका कारण पो हो कि?

उनले जवाफ दिइन्, ‘हुन सक्छ! नजिकै बस्दा हामीलाई आफ्ना धेरै कुराको मतलब हुँदैन। तर परिवार या देशबाट टाढा भएपछि आफ्ना धेरै मौलिक पहिरन, खानपिन, परम्परा, चाडपर्वहरु अलि बढी नै महत्वपूर्ण लाग्छन्। र म नेपाली चिजहरुबाट बढी प्रेरित हुन्छु।’

नेपाली वस्तुहरुबाट प्रेरित भएर नै आफूले उद्यमका लागि मौलिक मिठाइ नै रोजेको उनले बताइन्।

‘हाम्रा धेरै मौलिक चिज वस्तुहरु हराउँदै गएका छन्। जसमध्ये पुष्टकारी पनि एक हो। बजारमा पुष्टकारी, गुँदपाक पाइन्छन्,’ उनले भनिन्, ‘तर नयाँ पुस्ताहरुलाई त्यसबारे थाहा छैन। हामी बाहिरबाट आएका महँगा चक्लेट, कुकिजहरु खान्छौँ। आफ्नै देशको मिठाइका बारेमा थाहा हुँदैन। त्यसैले हाम्रो रैथाने मिठाइलाई पनि अरु मिठाइ जस्तै ब्राण्डेड बनाउनु पर्छ, अरु मिठाइ जस्तै सबैको रोजाइ बनाउने प्रयासमा ‘माक्कुसे’ ल्याएको हो।’

यतिबेला ‘माक्कुसे’लाई एउटा राम्रो ‘ब्राण्ड’ बनाउन तल्लिन छिन्, अनुष्का।

भन्छिन्, ‘ब्राण्ड भनेकै एकरुपता हो जस्तो लाग्छ। हामीले कुनैपनि वस्तु या चिज त्यही गुणस्तरको दिइराख्यौँ भने ब्राण्डेड भन्छौँ। हामी के सोच्छौँ भने ब्राण्डेड भनेको महँगो हो। त्यस्तो मात्र होइन। सस्तो ब्राण्डको पनि सामान हुन्छ। हाम्रो चाहना ग्राहकले पुष्टकारी होइन, ‘माक्कुसे’ मागुन् भन्ने छ।’

‘ब्राण्ड’ बनाउन सजिलो नभएको अनुष्काको बुझाइ छ। जसका लागि उपभोक्तालाई निरन्तर गुणस्तरयुक्त उत्पादन दिनसक्नु पर्ने उनी बताउँछिन्।

‘एउटा सानो सामान आउन पनि धेरै प्रक्रिया पूरा हुन्छ। कच्चा प्रदार्थ त्यतिकै मेन्टेन भएर आउनु पर्‍यो। यो हातको काम हो। यो कला नै हो’ उनी भन्छिन्, ‘सीपमूलक काम भएकाले सबै कुरा म्यानेज गर्नु पर्‍यो। हाम्रो प्याकेजिङ पनि ह्याण्ड मेड नै हो। हरेक स्टेपमा एउटा कुरा समयमा भएन भने त्यसले पूरा प्रक्रिया नै डिस्टर्ब गर्ने भएकाले त्यो सप्लाई चेन म्यानेज गर्नलाई चुनौति हो जस्तो लाग्छ।’

यही चुनौतिको बीच पनि नेपाली बजार ब्राण्डका लागि ठूलो ‘प्लाटफर्म’ भएको उनी बताउँछिन्। नेपाली बजार सोचेभन्दा धेरै ठूलो रहेको उनको बुझाइ छ।

‘नेपालको बजार हामीले सोचभन्दा धेरै नै ठूलो छ जस्तो पनि लाग्छ। लकडाउनपछि पनि नयाँ व्यवसायीहरु व्यवस्थापन भइरहेका छन्,’ उनले भनिन्, ‘नेपाली डायस्पराका कारण नेपालको बजार नेपालभन्दा धेरै बाहिर फैलिसक्यो।’

उनले ‘माक्कुसे’लाई नेपाली बजारमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्य लिएकी छन्। हाललाई भने नेपाली बजारलाई लक्षित गरेको उनले बताइन्।

‘अन्तर्राष्ट्रिय बजारलाई पनि लक्षित गरिएको हो। तर पहिले हामीले सानो स्केलमा गरिरहेका छौँ,’ उनले भनिन्, ‘जस्तो एक कराइ केही पकाउँदा के–के चाहिन्छ भनेर जानिसकेपछि धेरै बनाउन थाल्छौँ भनेजस्तै हाम्रो अप्रेशन पनि त्यस्तै हो। हामीले नेपालका केही स्थानमा पठाउन थालिसक्यौँ।’

उनले विस्तारै अन्तर्राष्ट्रिय बजारमा पनि पठाउने योजना सुनाइन्।

अन्तराष्ट्र्रिय बजारसम्म पुर्‍याउने लक्ष्य राखिएको ‘माक्कुसे’ मिठाइको मूल्य ६ सय ४९ देखि १ हजार २ सय ४९ रूपैयाँसम्म पर्ने अनुष्काले जानकारी गराइन्।

उनका अनुसार ‘माक्कुसे’को दाँजोमा बजारमा पाइने पुष्टकारी तथा गुँदपाक सस्तो छ।

‘मूल्यको कुरा गर्दा सस्तो मःम पनि हुन्छ र महँगो पनि। के फरक छ भन्दा सबैको आ–आफ्नो युनिक स्वाद हुन्छ। चक्लेट पनि त्यस्तै हो,’ उनले भनिन्, ‘बजारमा महँगा–सस्ता चक्लेट पाइन्छन्। तर हामी किनेर खान्छौँ, त्यसको गुणस्तरलाई हेरेर। हामीले पनि माक्कुसेमा गुणस्तरलाई ध्यान दिएका छौँ। ग्राहकहरुको स्वास्थ्य हाम्रा लागि निकै महत्वपूर्ण छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?