परम्परागत नेवारी संस्कृतिमा आधुनिक ‘टच’ दिइएको ‘सस :’

परम्परागत नेवारी संस्कृतिमा आधुनिक ‘टच’ दिइएको ‘सस :’
+
-

काठमाडौँ – कीर्तिपुर पाँगा दोबाटोदेखि ढल्पा चोकतिर लाग्नुस्। ढल्पा चोकबाट केही दूरी पार गरेपछि ओरालो बाटो आइपुग्छ। ओरालोमै छ ‘सस: त्वा:’। बाँयातर्फ लाग्दा ठूलो मुल ढोका देखिन्छ नेवारी शैलीमा बनाइएको ।

मुल ढोकाबाटै दायाँ–बायाँतर्फ पाटीपौवा देखिन्छ। ढोकाकाे दायाँपट्टी गणेशको मन्दिर, मन्दिरअघि बत्ति बाल्ने पाला।

मन्दिरको बायाँतिर ढुङ्गेधारा पनि छ, जसमा राँगाको टाउको आकृति बनाइएको छ। धेरैजसो ढुङ्गेधारामा नाग लगायतका मुकुट देखिन्छन् तर यहाँ राँगाको टाउकोकाे आकृति।

‘नेवारी समुदायमा राँगाका परिकार धेरै पाक्ने भएकाले राँगालाई सम्मान दिन’ राँगाको टाउको राखिएको हो।

धारा छेउैबाटै बनिरहेको इनार। इनार हेरिसकेपछि पुनः मुल ढोका मै फर्कनु्स्। त्यसपछि चार खुड्किला पार गरि अघि बढ्नुस्। पाइला अघि सार्दै गर्दा दाँयातर्फ नेवारी परिकार बनाइरहेका भान्से। बाँयातर्फ खाली पाटीपौवा।

ती खाली पाटीपौवामा छिट्टै नेवारी बजार हुने ‘सस: त्वा:’का प्रोजेक्ट म्यानेजर सागर तजले बताउँछन्।

बजारमा के–के पाइन्छन् भन्नेबारे जानकारी दिँदै म्यानेजर तजलेले भने, ‘अहिले हामीले प्रत्यक्ष रुपमा नेवारी परिकार कसरी बनाइन्छ त्यो देखाइरहेका छौँ। भविष्यमा पान सेक्सन, नेवारी बुटिक, तान बुनिरहेको प्रत्यक्ष देखाइने छ।’

साे बजारमा नेवारी वस्तुहरु मात्र पाइने उनले बताए।

यतिमात्र होइन, ‘सस: त्वा:’मा कीर्तिपुरका बुढा बाहरुको भजन पनि सुन्न पाइने छ। यसका लागि अझै केही समय लाग्ने म्यानेजर तज बताउँछन्।

‘यो हाम्रो सजेशन क्याम्पेन हो। अझै यसको काम पूरा हुन बाँकी छ,’ उनले भने, ‘यो फेजमा हामीले गेष्टहरुसँग प्रतिक्रिया लिइरहेका छौँ।’

पाटीपौवाबाट अझै केही खुड्कीला चढेपछि ‘बार’ आउँछ। जहाँ नेवारी छ्याङ, अ‍ैला, हुक्का तथा अन्य ब्राण्डका पेय प्रदार्थ पनि पाइन्छन्।

बारको ठ्याक्कै अघि फोटो खिच्ने ठाँउ छ, जहाँ ‘सासा ट्वा’मा आएका ग्राहकहरुले फोटो खिच्न सक्नेछन्। फोटो खिच्ने ठाँउबाट सोझै ‘लाइभ म्युजिक’ पाटी छ भने दायाँ–बायाँतर्फ ग्राहकहरुका लागि खाने–बस्ने पाटी। सबै नेवारी शैलीमा नै बनाइएको छ।

ग्राहकले चट्ट चकटीमा बसेर नेवारी खानाको आनन्द लिन सक्नेछन्।

‘हामीले सबै कुरा नेवारी शैलीमा बनाएका छौँ,’ उनले भने, ‘नेवारी संस्कृतिमा जे–जे हुन्छ यहाँ पनि त्यही नै हुन्छ।’

उनले थपे, ‘यो सजेशन क्याम्पेनिङ मात्र हो। ओपनिङ भइसकेको छैन। अहिले हामीले गेष्टहरुबाट सल्लाह–सुझाव लिएर त्यही अनुसार काम गरिरहेका छौँ।’

अझै काम पूरा नभएको उनले बताए।

‘अझै धेरै निर्माण कार्य बाँकी छ। हामीले नेवारी भोजका लागि ब्याङकेट बनाइरहेका छौँ,’ उनले भने, ‘भिआईपीहरुका लागि पनि छुट्टै ठाँउ हुनेछ। चिल्ड्रेन पार्क र पाटीपौवा पनि बन्ने छ। जहाँ बुढा बाहरुले नेवारी खेलहरु खेल्न सक्नेछन्।’

‘सस: त्वा:’मा नेवारी संस्कृति अनुसारका चाडपर्वका कार्यक्रम हुने उनले बताए। ‘हामीले नेवारी चाडपर्व अनुसार नेवारी ‘थिम’मा नै कल्चर शो पनि गछौँ,’ उनले भने।

‘सस: त्वा:’ को अर्थ


‘सस’ नेवारी शब्द हो। यसको नेपाली अर्थ ससुराली हुन्छ भने ‘त्वा:’ को अर्थ टोल। ‘सस: त्वा:’ अर्थात ससुराली टोल।

उनका अनुसार जसरी ज्वाईंलाई ससुरालीमा सेवा सत्कार गरिन्छ, त्यसरी नै आफूहरुले ‘सस: त्वा:’ मा सेवा सत्कार गर्ने तजले बताउँछन्।

‘सस: त्वा:’ आउने सबै हाम्रा ज्वाईं छोरी नै हुन्। ससुरालीमा ज्वाईंलाई जसरी मान सम्मान दिइन्छ। त्यसरी हामीले पनि दिन्छौँ। उहाँहरुलाई खुशी बनाउँछौँ’ उनले भने।

कसरी सुरु भयो ‘सस: त्वा:’


करिब १० वर्षअघि कीर्तिपुरमा ‘सस’ रेष्टुरेन्ट सञ्चालनमा आयो। जुन ‘सस: त्वा:’को दाँयातर्फ छ।

१० वर्षको अवधिमा कीर्तिपुरमा रेष्टुरेन्टको नाम चर्चित बन्यो। या भनौँ कीर्तिपुरमा ‘सस’ ब्राण्ड नै बन्यो। सोही ब्राण्डले नेवारी संस्कृतिलाई जोगाउने सोचलाई जन्माएको आरजे भेन्चरका फाउण्डर उज्वल कृष्ण जोशीले बताए।

‘दाइले रेष्टुरेन्ट सुरु गर्दा नेवा संस्कृतिलाई बचाउन खोल्नुभएको हो। हामीले पनि त्यही लय समातेर नेवा संस्कृतिलाई बचाउन रेष्टुरेन्टभन्दा पनि टोल बनाएका छौँ। नेवारी बस्तीमा जाँदा कस्तो अनुभव हुन्छ। के–के देख्न पाइन्छ? ती सबै यो टोलमा पनि हुन्छ। स–साना गल्ली, बजार, पाटी, पौवा, खानाका परिकार, इनार, ढुङ्गेधारा लगायतका सबै कुरा यस गल्लीमा पनि हुन्छन्।’

४ रोपनीभन्दा बढिमा फैलिएको ‘सस: त्वा:’ मा स–साना गल्ली हुने र ती गल्लीको पनि नामाकरण गरिने उनले जानकारी दिए।

उनका अनुसार अझै निर्माण कार्य भइरहेको छ। निर्माण सम्पन्न भएपछि ‘सस: त्वा:’ निकै आर्कषक देखिने पनि उनले बताए।

‘अझै धेरै काम बाँकी छ,’ उनले भने, ‘काम पूरा भएपछि सस: त्वा: घुम्दा स–साना गल्ली भेटिन्छन्। गल्लीहरुको नाम पनि राख्छौँ। पसलहरु पनि हुन्छन्। भजन कृतनका लागि ठाउँ हुन्छ। कतै हुक्का तानिरहेका हुन्छन्। यी सबै कुरा सस आउनेले देख्न सक्छन् र त्यसको अनुभव लिन सक्छन्।’

यस्तै ‘सस’मा काम गर्ने स्टाफहरुको पहिरन पनि नेवारी चलन अनुसारकै हुने उनले बताए।

आधुनिक माहोलमा परम्परागत तथा सांस्कृतिक कुराहरु लोप भइरहेकाले आफूहरुले नेवारी संस्कृतिलाई संरक्षण गर्दै आधुनिक ‘टच’ पनि दिएको उनको भनाइ छ।

‘अहिले पुरानै फेशन आइरहेको छ नि! हामीले पनि पुरानो शैलीलाई बचाउँदै आधुनिक शैलीलाई पनि जोडेका छौँ। यहाँ कक्टेल हुन्छ तर नेवारी थिममा हुन्छ,’ उनले भने।

उनले सबै वर्गले ‘सस: त्वा:’मा आउन सक्ने र आफूलाई चाहेको खाने कुरा खान सक्ने बताए।

‘हामीले भेज, नन् भेज, बफ, चिकेन सबै आइटम राखेका छौँ,’ उनले भने, ‘नेवारीका ९९.९ प्रतिशत परिकार पाइन्छन्।’

अहिले आफूहरुले ‘सजेशन क्याम्पेन’ गरिरहेको उनले बताए। क्याम्पेन भए पनि आफूहरुले सोचभन्दा राम्रो प्रतिक्रिया आइरहेको पनि उनले बताए।

‘हामीले सुरुवाति चरणमा धेरै गेष्टहरु आउनु हुँदैन सोचेका थियौँ। तर आफूहरुले सोचेको भन्दा ठीक उल्टो भयो। फस्ट फेजमा नै दैनिक दुई तीन सय गेष्ट आउनुहुन्छ। करिब पाँच सयजना हेरेर फर्किनुहुन्छ,’ उनले भने।

पहिलो क्षमता ८ सय जनाको भए पनि भविष्यमा २ हजार जना अट्ने उनले बताए।

‘अहिले आठ सय क्षमता भएको ठाँउ छ। भविष्यमा दुई हजार जना अट्ने क्षमताको हुन्छ,’ उनले भने, ‘धेरै कुराहरु अझै बनिरहेको छ। अझै समय लाग्छ। करिब तीन वर्ष भयो, बन्न लागेको अझै पनि बनिरहेको नै छ। यसमा लकडाउनले असर गर्‍यो।’

ओपनिङ कहिले?


निर्माण कार्य सम्पन्न भएपछि ‘ग्राण्ड ओपनिङ’ गर्ने योजना रहेको उनले जानकारी दिए। निर्माण कार्यमा लकडाउनले असर पारेकाले काममा ढिलाइ भएको उनले सुनाए।

‘लामो समय लकडाउन हुँदा काम शून्य नै भयो,’ उनले भने, ‘आधि काम पछाडि धकेलियो।’

केही समय कोरोनाले प्रभाव पारे पनि पुनः काम अगाडि बढिरहेको छ र ‘सजेशन क्याप’ चलाएको करिब एक महिना भएको उनले बताए।

तर केही महिनामा आफूहरुको ‘सफ्ट ओपनिङ’ गर्ने योजना रहेको जानकारी दिए। तर हालसम्म मिति भने तय गरिएको छैन।

‘सजेशन क्यापमा आउने ग्राहकहरुको प्रतिक्रिया अनुसार काम भइरहेको छ। परिवर्तन कसलाई पो मन पर्दैन र! जहिले पनि आउनुस् सजेशन दिनुस्,’ उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?