
काठमाडौँ-अब नेपाली आकाशमा इन्टरनेट चलाउन पाइने भएको छ।
काठमाडौँको कमलादीस्थित नेपाल दूरसञ्चार प्राधिकरणको २३औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अब नेपाली आकाशमा पनि इन्टरनेटका लागि अनुमति दिने बताए।
उनले भने, ‘अब नेपाली आकाशमा पनि इन्टरनेट चलाउन पाइन्छ। हामीले आईकाओको नीति अनुसार अनुमतिपत्र खुलाउने प्रक्रिया अगाडि बढाइसकेका छौ।’
उनका अनुसार उक्त प्रक्रियासँगै १० हजार फिटमाथि आकाशमा विदेशी प्लेनमा इन्टरनेट चलाउन सकिने छ भने यसका लागि एयरलाइन्सहरुले सरकारबाट लाइसेन्सको लागि अब अनुमति लिएर विमानमा इन्टरनेट सहजै चलाउन सकिनेछन्।
अन्तराष्ट्रिय रुपमा यो अभ्यास भइसकेकाले अब नेपाली आकाशमा पनि यो अभ्यासका लागि सहमति गरेर इन्टरनेट चलाउन सकिने उनको भनाइ छ। उनले भने, ‘ अब एयरलाइन्स कम्पनीहरुले आफ्नो यात्रुको सहजताको लागि सरकारसँग(प्राधिकरण) अनुमति लिन आए हुन्छ।’