
काठमाडौँ – अमर्यादीत टिप्पणी गरेर आफ्नो मानमर्दन गरेको भन्दै राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गरेकी छिन्।
वलीले मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन्। नेता पन्तले पिडुँला देखाएका भरमा केपी ओलीले कोमल वलीलाई सांसद बनाएको टिप्पणी गरेका थिए।
केही दिन पहिले एक कार्यक्रममा मन्तव्य व्यक्त गरिरहँदा पन्तले कोमल वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रियसभा सदस्य बनाएको टिप्पणी गरेका थिए।
नेता पन्तले गरेको टिप्पणीले आफूलाई चोट पुगेको तथा समस्त आमा, दिदीबहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेकाले मुद्धा दायर गर्नुपरेको राष्ट्रियसभा सदस्य वलीले बताइन् । नेता पन्तको टिप्पणीले सम्पूर्ण आमा, दिदीबहिनीहरु माथि लैंगिक हिंसा भएको उनको भनाई छ ।
सांसद वलीले आफू माथिल्लो सदनको विधायिका भएको हुनाले आत्मसम्मानको खोजी गर्न नसके, न्यायको खोजी गर्न र न्यायको लागि बोल्न नसके अरुको अवस्था पनि त्यस्तै हुने भन्दै अदालत आउनु बाध्यता भएको बताइन् ।