
सिमकोट- हुम्लामा पनि नेकपाको पार्टी कार्यलय रहेको भवनमा उक्त पार्टीको साइन बोर्ड फालेर नेकपा ( माओवादी केन्द्र )को बोर्ड टाँसिएको छ।
सर्वोच्च अदालतले आदेशपछि एउटै कार्यालय रहेको नेकपाको भवनमा माओवादी केन्द्रले आफ्नो कार्यालय स्थापना गरेको हो।
सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्ने सिलसिलामा पार्टी कार्यालय स्थापना गरिएको नेकपाकी सचिवालय सदस्य जुम्कीत लामाले बताइन्।
उनले भनिन्, ‘अदालतको फैसलापछि आ-आफ्नो पार्टीमा जान बाध्य हुनु पर्ने अवस्था आएपछि एक कार्यक्रम गरी नेकपाको पार्टी कार्यालय भवन रहेको घरमा माओवादी केन्द्रको बोर्ड राखेर पार्टी कार्यालय स्थापना गरेका हौ।’
कार्यक्रममा केन्द्रका अध्यक्ष लालकेश जैसी, जिल्ला समन्वय प्रमुख दान बहादुर रावत लगाएको उपस्थिती रहेको थियो। यसअघि नेकपा दुई खेमामा हुँदा प्रचण्ड माधव पक्षले सो कार्यालय कब्जा गरेका थिए। अदालतको निर्णयले दुई पार्टी अलग अलग रहनु पर्ने निर्णय गरेपछि माओवादीको कब्जामा गएको छ।
उक्त भवन माओवादी जनयुद्धका क्रममा सहिद भएका बक्त ऐडी नाममा भक्त स्मृति भवन निर्माण गरिएको थियो। यसको एकदिन अगाडी नेकपा एमालेले एकता चोकमा आफ्नो पार्टी कार्यालय स्थापना गरेको थियो।
सो एमालेको पार्टी कार्यालय स्थपान गर्ने कार्यक्रममा मावध पक्षका एमाले नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थिएन। हुम्लामा अव दुवै पार्टीले आफ्नो कार्यालय स्थापना गरेका छन्।