
सिमकोट– परम्परागत रुपमा गरिने पठनपाठनभन्दा नयाँ प्रविधिको प्रयोगसहित गरिने पठनपाठनमा विद्यार्थीको आकर्षण देखिएको छ।
हुम्लाको खार्पुनाथ गाउँपालिका – ४ को छिप्रा गाउँको सीता नमुना माध्यामिक विद्यालयमा कक्षा सातमा अध्ययनरत छात्र पवन हमालले शिक्षकले एकोहोरो पढाएको भन्दा प्रविधि प्रयोग गरेर पढाएको कुरा धेरै प्रभावकारी हुने बताए।
पठनपाठन हुँदा विद्यार्थीहरु कक्षामा निदाउने, हाई काड्ने र एक आपसमा चल्ने गरेपनि अहिले प्रविधिको सहयोगमा पढाउँदा सबैको ध्यान आकर्षित हुने गरेको हमालको भनाइ छ।
कक्षामा विधार्थीका अगाडि सचित्र पाठ्यक्रममा भएका कुरा अगाडिको बोर्डमा आउने भएपछि विद्यार्थीले ध्यान दिने गरेका छन्। कक्षामा प्रविधिको प्रयोग गरी पढाई भएपछि विद्यार्थीको उपस्थिति पनि बृद्धि भएको छ।
विद्यालयमा कक्षा पाँचदेखि दशसम्मका सबै विषयको पठनपाठन प्रविधिबाट हुने गरेको विद्यालयका प्रधानाध्यापक जुनराज हमालले जानकारी दिए। यसमा केही भर्चुअल र केही सलाईड तयार गरेर पठनपाठन गर्ने गरिएको उनले बताए।
प्रअ हमालका अनुसार प्रविधिको प्रयोगबाट हुने पढाइ र परम्परागत तरिकाबाट हुने पढाई धेरै फरक हुने भएको कारण विद्यार्थी आकर्षण बढेको हो।
कक्षामा हुने सबै क्रियाकलाप विद्युतीय प्रर्णालीमार्फत हुने भएका कारण कक्षामा विद्यालयले ई–हाजिरी, सिसिटिभी क्यामरा, टेलिभिजन र प्रत्येक शिक्षकलाई ल्यापटपको व्यवस्था गरिएको छ।
प्रविधिको प्रयोग गरेर पढाउनु पर्ने भएपछि शिक्षकहरु पनि मेहनत गर्ने र नयाँ पाठ्यक्रमसँग सम्वन्धित कुरा खोजेर पठनपाठन गराउनेतर्फ चासो दिने गरेको उनले बताए।